काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा समूह उकालो लागेका छन्। आज जीवन बीमा समूह २२१.०१ अंकले बढ्दै १४८७५.०३ को उचाईमा पुग्यो। आज निर्जीवन बीमा समूह पनि ७८.०५ अंकले बढ्दै १०७५४.८६ को बिन्दुमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनी रह्यो। यो दिन प्रभु लाइफको सेयरमूल्य ९.९६ अंकले बढ्दै प्रतिकित्ता २९८ रुपैयाँ कायम भयो। त्यस्तै आज आइएमई जनरलको सेयरमूल्य पनि ७.९७ प्रतिशतले बढ्दै प्रतिकित्ता ९०७ रुपैयाँ कायम भयो।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा भने कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी आएको छ। यो बढोत्तरीसँगै परिसूचकले २३०० को बिन्दु पार गरेको छ। बढ्दो बजारमा आज परिसूचक २८.४६ अंकले उकालो लाग्दै २३१५ को बिन्दुमा पुग्यो। यो दिन बजारमा २०८ कम्पनीका १ करोड ५० लाख ३५ हजार २२१ कित्ता सेयर ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार ७८२ रुपैयाँमा किनबेच भयो।
आज बजारमा एउटा समूह बाहेक अन्य सबै समूहमा हरियाली छायो। बैंकिङ समूह १.०१ अंकले बढेको आज व्यापार २३२.९७, होटल १६.८७, विकास बैंक ११०.०१, वित्त २५.०१, उत्पादन तथा प्रशोधन ४९.८२, अन्य ६०.७६, लघुवित्त ११५.५५ र म्युचुअल फन्ड ०.०८ अंकले बढे।
यो दिन गिरावट आउने एउटा मात्रै समूहको रुपमा हाइड्रो समूह रह्यो। आज यो समूह ७.२ अंकले ओरालो लाग्यो।
आज साल्ट ट्रेडिङको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो भने गुराँस लघुवित्तको ९.९८, नारायणी विकास बैंक ९.९८, कर्पोरेट डेभलपमेन्ट बैंक र सामूदायिक लघुवित्तको सेयरमूल्य ९.९७ प्रतिशतले बढ्यो।
त्यस्तै आज युनाईटेड फाइनान्सको सेयरमूल्यमा ५.७१ प्रतिशतको सर्वाधिक गिरावट आयो। सेयरमूल्यमा गिरावट आउने अन्य कम्पनीको रुपमा मिर्मिरे माइक्रोफाइनान्स, नेपाल एसबीआई बैंक, रसुवागढी हाईड्रोपावर कम्पनी र सान्जेन जलविद्युत कम्पनी रहे।
यो दिन नेपाल टेलिकमको सर्वाधिक सेयर कारोबार भएको छ। आज टेलिकमको ५८ करोड १० लाख बढीको सेयर कारोबार भयो भने एनआईसी एशिया बैंकको २२ करोड ९० लाख, सिभिल बैंकको २० करोड ९० लाख, नेपाल पुनर्बीमाको १८ करोड ६९ लाख र नेको इन्स्योरेन्सको १७ करोड १० लाख बढीको सेयर कारोबार भयो।