काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज निर्जीवन बीमा समूह बढेको छ। आज यो समूह ३९.०८ अंकले बढ्दै १०११५.४५ को उचाईमा पुग्यो। यो दिन जीवन बीमा समूहमा भने गिरावट आयो। जीवन बीमा समूह १७.१६ अंकले ओरालो लाग्दै १३९४५.९५ मा सीमित बन्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनी रह्यो। प्रभु लाइफको सेयरमूल्य १० प्रतिशतले बढ्दै पोजेटिभ सक्रिट लाग्यो। यो बढोत्तरीसँगै कम्पनीको सेयरको मूल्य प्रतिकित्ता २०९ रुपैयाँ कायम भयो।
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा एनएलजी इन्स्योरेन्स कम्पनी रह्यो। आज यो कम्पनीको सेयरमूल्य २.८६ प्रतिशतले घट्दै प्रतिकित्ता ८१५ रुपैयाँ कायम भयो।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकले २२ सयको आँकडा पार गरेको छ। परिसूचक ४१.२४ अंकले बढ्दै २२३५.७२ को उचाईमा पुग्यो। यो दिन बजारमा २०७ कम्पनीका १ करोड ५० लाख ३० हजार ८३६ कित्ता सेयर ६ अर्ब ३२ करोड ६६ लाख ४६ हजार ८०६ रुपैयाँमा किनबेच भयो।
आज बजारमा एउटा समूह बाहेक सबै समूहमा हरियाली छायो। आज विकास बैंक समूह सर्वाधिक अंकले बढ्यो। यो समूह ८८.४५ अंकले बढ्यो भने बैंकिङ समूह ५९.६१, व्यापार ७८.०३, होटल २०.५४, हाइड्रोपावर १६.६५, वित्त १९.२१, उत्पादन तथा प्रशोधन २५.९७, अन्य ३.१६, लघुवित्त २१.८ र म्युचुअल फन्ड ०.०८ अंकले बढे। आज जीवन बीमा समूहमा मात्रै गिरावट आयो।
आज प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले, नारायणी डेभलपमेन्ट बैंक ९.९७, कुमारी बैंक ९.८९, आरम्भ चौतारी लघुवित्त ९.८९, युनाइटेड फाइनान्सको सेयरमूल्य ९.८८ प्रतिशतले बढ्यो।
आज निर्धन उत्थान लघुवित्तको सेयरमूल्यमा सर्वाधिक ४.३१ प्रतिशतको गिरावट आयो। त्यस्तै हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्य २.९९, एनएलजी इन्स्योरेन्स २.८६, नेरुडे लघुवित्त २.८२ र दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्य २.७० प्रतिशतले घट्यो।
आज प्रभु बैंकको सर्वाधिक सेयर कारोबार भएको छ। यो दिन बैंकको ४० करोड २९ लाख बढीको सेयर कारोबार भएको छ। यस्तै कुमारी बैंकको ३० करोड ४५ लाख र नेपाल पुनर्बीमाको २४ करोड १२ लाख बढीको सेयर कारोबार भएको छ।