बजारमा करेक्सन, नेपाल पुनर्बीमाको १ अर्ब बढिको कारोबार

2020-12-03
बजारमा करेक्सन, नेपाल पुनर्बीमाको १ अर्ब बढिको कारोबार

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज बीमा समूहहरुमा करेक्सन आएको छ। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहमा गिरावट आयो। यो दिन जीवन बीमा समूह २५८.२६ अंकले ओरालो लाग्दै १२६०६.६९ को बिन्दुमा झर्यो। 

आज निर्जीवन बीमा समूह १६६.४१ अंकले घट्दै ९९१२.६० को बिन्दुमा सीमित बन्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

त्यस्तै सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी रह्यो। 

बजारमा अरु के–के भयो ?

निरन्तर बढिरहेको बजारमा आज करेक्सन आएको छ। आज नेप्से परिसूचक १५.५७ अंकले घट्दै २०५५.४५ को बिन्दुमा सीमित बन्यो। यो दिन बजारमा २ सय कम्पनीका १ करोड ५८ लाख ८९ हजार ५६० कित्ता सेयर ८ अर्ब २ करोड ६० लाख २३ हजार ७९८ रुपैयाँमा किनबेच भयो। 

आज हाइड्रो र लघुवित्त समूह बाहेक अन्य सबै समूहमा गिरावट आयो। लघुवित्त ३०.०८ र हाइड्रो १०.३६ अंकले बढे। 

बैँकिङ समूह ८.७३ अंकले घटेको आज व्यापार १६०.४२, होटल ८.३५, विकास बैंक २०.३५, वित्त ६.७३, उत्पादन तथा प्रशोधन ७२.९६, अन्य १९.३१ र म्युचुअल फन्ड ०.०५ अंकले घटे। 

आज माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरमूल्यमा आज १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ। यस्तै नेपाल सेवा लघुवित्तका सेयरमूल्य पनि ९ प्रतिशत बढीले वृद्धि भएको छ।

यो दिन विशाल बजार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरमूल्यमा ७ प्रतिशतको हाराहारीमा गिरावट आएको छ। 
यो दिन नेपाल पुनर्बीमा कम्पनी एक्लैको १ अर्ब ११ करोड रुपैयाँ बढीको कारोबार भएको छ। कम्पनीको सेयरमूल्य बिहीबार भने २३ रुपैयाँले घट्यो । नेपाल टेलिकमको ४२ करोड १८ लाख रुपैयाँ बढीको कारोबार भएको आज नेपाल लाइफ इन्स्योरेन्सको ३० करोड ३ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको २६ करोड ७ लाख रुपैयाँ, शिवम सिमेन्ट्सको २३ करोड ८२ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको २२ करोड ३० लाख रुपैयाँ, नेपाल बैंकको १८ करोड ७० लाख रुपैयाँ, नबिल बैंकको १८ करोड २४ लाख रुपैयाँ, छिमेक लघुवित्तको १७ करोड १० लाख रुपैयाँ र नेको इन्सुरेन्सको १४ करोड ६० लाख रुपैयाँबराबरको कारोबार भएको छ।

 


Share this with your friends: