बिएण्डसी अस्पतालद्वारा झापाका दुई सय बढी विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा

2021-12-21
बिएण्डसी अस्पतालद्वारा झापाका दुई सय बढी विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा

काठमाण्डौ । बिएण्डसी अस्पतालले सामाजिक उत्तरदायित्व अन्र्तगत झापा अर्जुनधारा नगरपालिकाका दुई सय बढि परिवारको स्वास्थ्य बीमा गरिदिएको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले सोमबार एक कार्यक्रमका बीच गरिव, विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा गरिदिएका हुन् । 

प्रसाईले अर्जुनधारा नगरपालिका वडा नम्बर १,२ र ३ का विपन्न २०३ परिवारको स्वास्थ्य बीमा गरेको अस्पतालले जनाएको छ । बीमा सुविधाबाट बञ्चित परिवारको बीमा बापत लाग्ने तीन हजार पाँच सय रुपैँया प्रति परिवारका दरले सात लाख बढि रकम तिरेर बीमा सुविधा उपलब्ध गराइने प्रसाईले बताए । आर्थिक अभावकै कारण कसैले स्वास्थ्य उपचारबाट बञ्चित हुन नपरोस भन्ने उद्धेश्यले आफूले सो काम गरिदिएको उनले बताए । 

कार्यक्रममा कार्यकारी निर्देशक प्रसाईले प्रतिनिधिमुलक रुपमा मानबहादुर दर्जी आइतमाया लिम्बू, देउबहादुर बराइली, रेश्मा केरुङ, मनमाया लिम्बू र रुद्र गजमेरलाई बीमा कार्ड वितरण गरेका थिए ।

बीमा कार्ड वितरण अभियान नेपालको सहजीकरणमा गरिएको थियो । अभियानकै पहलमा बाँकी परिवारका लागि स्वास्थ्य बीमा गरिने अभियान नेपालका अध्यक्ष लोकमान श्रेष्ठले बताए । 


Share this with your friends: