काठमाण्डौ । देशमा कोरोनाको दोस्रो लहर व्यापक रुपमा बढ्न थालेपछि बीमा समितिले सबै बीमा कम्पनीहरुलाई सजगता तथा सुरक्षा अपनाउने सम्बन्धमा निर्देशन जारी गरेको छ।
समितिले कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक सर्तकता सहित बीमा कम्पनीहरुको सेवालाई निरन्तरता प्रदान गर्नका लागि सबै बीमा कम्पनीहरुलाई स्वास्थ्य सुरक्षा सम्बन्धी निर्देशन जारी गरेको हो। समितिले बीमा ऐन २०४९ को दफा(८)घ को अधिकार प्रयोग गरी निर्देशज जारी गरिएको जनाएको छ।
समितिले प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा सम्भावित संक्रमणको जोखिमलाई नियन्त्रण गर्न तत्काल अपनाउनुपर्ने सावधानी स्वरुप मास्क, साबुन, पानी र सेनिटाइजरको अनिवार्य रुपमा व्यवस्था गर्न र सेवाग्राहीले सेवा लिन आउँदा ज्वरो मापन गर्ने व्यवस्था मिलाउने साथै आवश्यक सुरक्षाका अन्य सम्पूर्ण उपायहरु अबलम्बन गर्न सबै बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ।
यस्तै भौतिक दुरी कायम गरी भिडभाड नहुने गरी सेवाग्राहीलाई सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन र सेवाग्राहीको आवतजावत कम हुनेगरी बीमा कम्पनीहरुले दिने सेवाहरुमा यथासम्भव विद्युतीय माध्यमको व्यवस्था गराउन निर्देशन दिइएको छ।
बीमकहरुबाट सञ्चालन गरिने बैठक, अभिकर्ता तालिम, सेमिनार जस्ता कार्यक्रमहरु भौतिक दुरी कायम गरी अत्यावश्यक सम्पर्क गर्नुपर्ने अवस्था बाहेक अन्य समयमा विद्युतीय माध्यम वा भर्चुअल माध्यमबाट सञ्चालन गराउन समितिले निर्देशन जारी गरेको छ।
यसका साथै समितिले बीमकमा कार्यरत कर्मचारीहरुलाई एक आपसमा सम्पर्क नहुने गरी संक्रमणको न्यूनीकरणको उपाय अपनाउन, कर्मचारीलाई संक्रमणको शंका लागेमा तुरुन्त परीक्षणको व्यवस्था मिलाउने,संक्रमण देखिएका कर्मचारीलाई आईसोलेसन गर्न र कन्ट्याक ट्रेसिङमा परेका कर्मचारीलाई आवश्यक होम आईसोलेसनको व्यवस्था गर्न र सेवाग्राहीलाई सेवा दिन कर्मचारीहरुको कार्य विभाजन गरी कार्यालय समयमा सकेसम्म कर्मचारीहरु उपस्थित गराई सेवा प्रदान गर्ने व्यवस्था मिलाउन निर्देशन जारी गरेको छ।