बीमा समितिद्वारा बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका जारी

2021-05-11
बीमा समितिद्वारा बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका जारी

काठमाण्डौ । बीमा समितिले बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ जारी गरेको छ। यसअघि बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशन मात्रै रहेकोमा समितिले बीमा कम्पनीहरुको संस्थापक सेयर सम्बन्धी व्यवस्थामा थप स्पष्टता र व्याख्यासहित निर्देशिका नै जारी गरेको हो। 

निर्देशिका बमोजिम चुक्तापूँजीको १ प्रतिशतभन्दा कम सेयर धारण गर्ने संस्थापक–संस्थापक बीचमा सेयर खरिद बिक्री गर्नुपरेमा प्रचलित कानुनको रित पुर्याई खरिद बिक्री गरी सो को जानकारी १५ दिनभित्र समितिमा दिन सकिनेछ। तर बिक्रीकर्ताको स्वामित्व चुक्तापूँजीको १ प्रतिशतभन्दा बढी रहेको वा खरिदपश्चात खरिदकर्ताको स्वामित्व चुक्तापूँजीको १ प्रतिशतभन्दा बढी हुने भएमा समितिको स्वीकृती लिनुपर्नेछ। 

चुक्तापूँजीको १ प्रतिशतभन्दा बढी संस्थापक सेयर धारण गरेको अवस्थामा त्यस्तो सेयर टुुक्रा टुक्रा गरी वा एकमुुष्ठ रुपमा संस्थापक समूहमा नरहेको व्यक्तिलाई सेयर बिक्री वा नामसारी वा हस्तान्तरण गर्न समितिको स्वीकृती लिनुपर्नेछ। 

संस्थापक समूहको १ प्रतिशतभन्दा कमभन्दा कम सेयर लिएको व्यक्तिको पारिवारीक अंशबन्डा भएमा वा मृत्युभई हकवालामा नामसारी गर्नुपर्ने भएमा वा तीनपुस्ता भित्रको सेयरको हस्तान्तरण हुने भएमा निजको हकदार वा निजको हकदार वा निजले इच्छाएको व्यक्तिको नाममा सेयर नामसारी गरी सो को जानकारी प्रन्ध्र दिनभित्र बीमा समितिलाई दिनुपर्नेछ। 

बीमा व्यवसाय सञ्चालन गर्न इजाजत प्राप्त भएको ५ वर्ष पुरा भएको बीमकको संस्थापक सेयरधनीले बीमकको कुल चुक्तापूँजीको कम्तिमा ५१ प्रतिशत सेयर स्वामित्व संस्थापक सेयर समूहको कायम हुने गरी संस्थापकहरुको सेयर लगानीको अनुपातमा समानुपातिक रुपमा बढी हुन आउने सेयर सर्वसाधारण समूहमा परिवर्तन गर्न सकिनेछ। तर यसका लागि बीमकको सञ्चालक समितिबाट निर्णय गरी बीमा समितिामा पूर्व स्वीकृतीका लागि निवेदन दिनुपर्नेछ। सेयर परिवर्तन गर्दा एक आर्थिक वर्षमा बढीमा १० प्रतिशत बिन्दुसम्म कायम गर्न सकिनेछ। 

बीमकको चुक्तापूँजीको १ प्रतिशत वा सो भन्दा बढी संस्थापक सेयर भएका सेयरधनीले सेयर धितो राखि कर्जा लिनु परेमा बीमकको पूर्व स्वीकृती लिनुपर्नेछ। यसो गर्दा ५० प्रतिशतभन्दा बढी सेयर धितो राखि कर्जा लिन पाइने छैन र ऋण लिने अवधि एक वर्षभन्दा कम हुने छैन। 

संस्थापक समूहको अन्र्तगतको बिक्री हुन नसकेको हकप्रद सेयर तत्काल कायम रहेका अन्य संस्थापकहरुलाई बिक्री गर्न सकिनेछ। विद्यमान संस्थापकहरुमा बिक्री गर्न नसकेमा बोलकबोल वा गोप्य शिलबन्दी टेन्डरको माध्यमबाट बिक्री गर्न सकिनेछ। 

बीमकको संस्थापक सेयरधनीले बीमक दर्ता प्रमाणपत्र प्राप्त भएको मितिले कम्तीमा ५ वर्षसम्म त्यस्तो सेयर बिक्री नामसारी गर्न धितोबन्धक राखि ऋण लिन, हक हस्तान्तरण गर्न वा सेयर समूह परिवर्तन गर्न पाउने छैन। तर बीमकको सञ्चालनमा कुनै बाधा उत्पन्न भएमा वा संस्थापक सेयरधनी संस्थाले अन्य वित्तीय संस्था गाभे÷प्राप्ति गरेमा वा सेयरधनीको मृुत्यु भएमा बीमा समितिबाट स्वीकृती लिई नामसारी गर्न सक्नेछन्। 

कुनै व्यक्ति, एकाघर परिवार, समूह वा संगठित संस्थाले कुनै एक बीमकको संस्थापक सेयरमा लगानी गर्दा चुक्तापूँजीको १५ प्रतिशत र अन्य अन्य समान प्रकृतिको बीमा व्यवसाय गर्ने बीमकमा चुक्तापूँजीको १ प्रतिशतभन्दा कम लगानी गर्न सक्नेछ। 

मृत्युु भई वा पारिवारिक अंशबन्डा भई हक हस्तान्तरण भएको हकमा बाहेक संस्थापकले आफ्नै सेयरधनीलाई प्राथमिकता दिई सेयर बिक्री नामसारी गर्नुपर्नेछ। बीमकले संस्थापक समूहको सेयर कारोबार गर्न बीमा समितिबाट स्वीकृती लिएको तीन महिनाभित्र कारोबार सम्पन्न गर्नुपर्नेछ। 

 


Share this with your friends: