काठमाण्डौ । बीमा समितिले जीवन बीमा कम्पनीहरुको कर्जा फर्छ्यौट गर्ने अवधि थप गरेको छ । यसअघि समितिले अभिकर्ताहरुलाई दिएको सम्पुर्ण कर्जा यहि असार मसान्तभित्र असुल उपर गर्न निर्देशन दिएको थियो । चर्को दबाबपछि यसअघिको यो निर्देशनबाट पछि हट्दै समितिले अभिकर्ताहरुलाई असार मसान्तसम्म कर्जा असुली गर्नका लागि दबाब नदिन निर्देशन दिएको छ । समितिले आज(जेठ २३ गते)परिपत्र जारी गर्दै सम्पूर्ण बीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो ।
समितिले कर्जा फर्छ्यौट गर्ने अवधिका सम्बन्धमा कम्पनीहरु सँगको औपचारिक र अनौपचारिक छलफल हुँदा अषाढ मसान्तभित्र सबै कर्जाहरु फर्छ्यौट गर्न अप्ठेरो हुने व्यहोरा अनुरोध भएको जनाएको छ । त्यसैले समितिले कम्पनीबाट प्रवाह भएको नगद कर्जाहरु मध्ये कुन कर्जा कति समय अवधिमा फर्छ्यौट हुने हो, सो अवधि भित्र फर्छ्यौट गर्ने व्यवस्था मिलाई यसको विस्तृत लिखित जानकारी बीमा समितिलाई उपलब्ध गराउन समितिले जीवन बीमा कम्पनीहरलाई निर्देशन दिएको छ ।
समितिले कम्पनीहरुलाई कर्जा असुलिका लागि समय सिमा निर्धारण गरेको छैन । तर कम्पनीहरुले अवको कति समय भित्रमा कर्जा असुल उपर गर्ने हो, त्यसको जानकारी बीमा समितिलाई गराउनु पर्नेछ ।
समितिले गत बैशाख २ गते अभिकर्ताहरुलाई दिएको सम्पुर्ण कर्जा यहि असार मसान्तभित्र असुल उपर गर्न निर्देशन दिएको थियो ।