काठमाण्डौ । बीमा समितिले जीवन बीमा सम्बन्धि निर्देशिका २०७८ बाट ३० दिनमा बीमालेख फिर्ता लिने व्यवस्थालाई हटाएको छ । समितिले गत असार २३ गते जारी गरेको जीवन बीमा सम्बन्धि निर्देशिका २०७८ जीवन बीमकहरुले बीमालेख जारी भएको ३० दिन भित्रमा बीमालेख फिर्ता लिन पाउने व्यवस्था गरेको थियो ।
उक्त व्यवस्था सहितको निर्देशिका जारी भएपछि अव्यवहारिक भएको र यसले बीमा जीवन बीमा क्षेत्रमा विकृती निम्त्याउने भन्ने विरोध भएपछि समितिले निर्देशिकाबाट यो व्यवस्थालाई हटाएको हो ।
३० दिनको बीमालेख शुल्क फिर्ता गर्दा बीमा योजना बिक्री गर्दा बखत बीमा अभिकर्तालाई विभिन्न कमिसन तथा उक्त कमिसनमा सरकार कर तिरिने हुँदा यो व्यवस्था अव्यवहारिक भएको भन्दै विरोध भएको थियो । यसका साथै यो व्यवस्थाको आडमा बीमा अभिकर्ताहरुले कमिसनको खेलमा विभिन्न कम्पनीहरुमा बीमा गराउने गलत अभ्यास बस्ने भन्दै आवाज उठेको थियो । यतिमात्रै नभई बीमा कम्पनीहरुले आफ्नो आम्दानी बढी देखाउनका लागि आर्थिक वर्षको अन्त्यतिर बीमा योजना बिक्री गरी अर्को आर्थिक वर्षको सुरुवातमा समपर्ण गर्न लगाउने जस्ता विकृतिहरु मौलाउन सक्ने सम्भावनालाई बल पुर्याउने भन्दै विरोध भएको थियो ।
जीवन बीमा सम्बन्धि निर्देशिका २०७८ को दफा २१ को उपदफा १ मा‘बीमकले जारी गर्ने सबै किसीमका बीमालेखहरुमा ३० दिनको बीमालेख फिर्ता गर्ने अवधिको व्यवस्था गनुपर्नेछ र सो अवधि बीमालेख जारी भएको मितिदेखि लागू हुनेछ’ भन्ने व्यवस्था गरिएको थियो ।
यस्तै उपदफा २ मा ३० दिनभित्र बीमित÷बीमालेख धारकले बीमालेख फिर्ता गर्न लिखित अनुरोध गरेमा सो बीमालेख अन्तर्गत कुनै दाबी नपरेको अवस्थामा बीमकले बीमालेख बापत लिएको सम्पूर्ण बीमाशुल्क रकम फिर्ता गरी बीमालेख रद्द गर्नुपर्ने व्यवस्था गरिएको थियो ।
त्यस्तै उपदफा ३ मा बीमा कम्पनीहरुले बीमितिलाई बीमाशुल्क फिर्ता गर्दा मेडिकल अन्डर्राइटिङ बापतको खर्च, बीमालेख जारी मितिदेखि बीमालेख फिर्ता गर्न लिखित अनुरोध गरेको मितिसम्मको जोखिम बहन गरे बापतको समानुपातिक बीमाशुल्क रकम र टिकट दस्तुर कट्टा गर्न सक्ने व्यवस्था गरिएको थियो ।