काठमाण्डौ । बीमा समितिले नयाँ सर्भर र सफ्टवेयर सञ्चालनमा ल्याएको छ । समितिले समितका कारबारबाहीलाई अझ बढी चुस्त, दुरुस्त एवम पारदर्शी बनाउदै बीमक र सरोकारवालाहरुलाई छिटो छरिते रुपमा सेवा उपलब्ध गराउने उदेश्यले साउन १ गतेदेखि ‘इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम(आईआरएमआईएस) सञ्चालनमा ल्याएको हो ।
समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले उक्त नयाँ सर्भर र सफ्टवेयरको कुपोन्डोलस्थित समितिको कार्यालयमा उद्घाटन गरेका थिए । उक्त अवसरमा उनले बीमा व्यवसायलाई प्रविधिमैत्री बनाएर अगाडी बढाउन आधुनिक प्रविधिमा आधारित नयाँ सर्भर र सफ्टवेयर पहिलो पाइला भएका बताए । यस्तै समितिले सञ्चालनमा ल्याएको नयाँ प्रविधिमार्फत बीमा कम्पनीहरुले कानुनबमोजिम समितिलाई उपलब्ध गराउनुपर्ने विवरण अनलाइनबाटै पठाउन सक्ने र त्यसबाट समय तथा लागत समेत बचत हुनुका साथै काम कारवाही पनि छिटो छरितो र पारदर्शी हुने सिलवालले बताए ।
उक्त अवसरमा उनले नयाँ सफ्टवेयर सञ्चालनमा आएसँगै बीमा समितिसँग सबै बीमा कम्पनीहरु अनलाइनबाटै जोडिने भएकाले बीमा कम्पनीबाट समयमै विवरण प्राप्त हुने र तिनको अध्ययन विश्लेषण गरी बीमा सम्बन्धिी नीति रणनीतीको परिमार्जन तथा विश्लेषणका साथै नियमन र सुपरीवेक्षण गर्न समेत बीमा समितिलाई सहयोग पुग्ने विचार व्यक्त गरे ।
नयाँ सफ्टपेयरमार्फत बीमा कम्पनीहरुबाट कानुनी उजुरी, नियमन, नीति विश्लेषण र परिचालन सम्बन्धि विषयका साथै दाबी तथा सम्पत्ति शुद्धीकरण सम्बन्धि विवरणहरु र बीमालेख तथा बीमांकी, अन्डरराईटिङ, वित्तीय एवम लेखापरीक्षण र सूचना प्रविधि सम्बन्धि विवरणहरु समितिलाई प्राप्त हुनेछन् ।
यसैगरी उक्त सफ्टवेयरमार्फत बीमा कम्पनीबाट भएका स्थलगत सुपरीवेक्षण, गैर स्थल सुपरीवेक्षण, कृषि तथा लघु बीमा र पुनर्बीमा सम्बन्धि विवरणहरुका साथै इजाजत, बीमा अभिकर्ता तथा सर्भेयर र व्यवस्था सूचना प्रणाली सम्बन्धि विवरणहरु समितिलाई प्राप्त हुने व्यवस्था गरिएको छ ।