बीमा समितिद्वारा प्राविधिक र आर्थिक प्रस्ताव पेस गर्ने म्याद थप

2021-09-03
बीमा समितिद्वारा प्राविधिक र आर्थिक प्रस्ताव पेस गर्ने म्याद थप

काठमाण्डौ । बीमा समितिद्वारा बीमा व्यवसायको व्यापकताको अध्ययन/अनुसन्धानका लागि गरिएको आह्वानमा प्रस्ताव पेस गर्ने म्याद थपिएको छ । समितिले प्रस्ताव पेस गर्ने म्याद १५ दिन थप गरेको छ । 

समितिले नेपालको बीमा व्यवसायको समग्र अवस्थाको चित्रण र बीमा व्यवसायको व्यापकताका लागि चाल्नुपर्ने भावी कदमका सम्बन्धमा विस्तृत अध्ययन गरी प्रतिवेदन तयार गर्न गत साउन २८ गते प्रस्ताव आह्वान गरेको थियो । 

यसका लागि बीमा क्षेत्रको अध्ययन/अनुसन्धानमा क्रियाशील संस्था/प्रतिष्ठानहरुबाट २१ दिनभित्र छुट्टा छुट्दै प्राविधिक र आर्थिक प्रस्ताव पेस गर्न सूचना जारी गरेको थियो । उक्त मितिभित्र प्रयाप्त प्रस्तावहरु प्राप्त नभएकाले उक्त प्रस्ताव बमोजिम आएको प्रस्तावहरु यथावत राखि थप १५ दिन म्याद थप गरिएको हो ।  

प्राविधिक प्रस्तावहरु सम्बन्धित संस्थाको प्रतिनिधिको उपस्थितीमा समितिको कार्यलयमा खोलिने समितिले जनाएको छ । प्राविधिक प्रस्तावहरु पेश गर्नेमध्ये बढीमा ३ उत्कृष्ठ प्रस्तावहरु छनोट गरी ती प्रस्तावका मात्र आर्थिक प्रस्ताव खोलिने समितिद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । 

फारम बुझाउने अन्तिम दिन असोज १ गते मध्यान्न १२ बजेसम्म रहेको भने सोहि दिन अपरान्ह २ बजे प्रस्ताव खोलिने छ । 


Share this with your friends: