काठमाण्डौ । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले दुर्घटना बीमा निर्देशिका २०७८ जारी गरेको छ । निर्जीवन बीमा व्यवसाय अन्तर्गत दुर्घटना बीमाको स्तरीकृत बीमालेख तयार गरी सोका लागि आवश्यक पर्ने बीमादर समेत निर्धारण गरी प्रचलनमा ल्याउनका लागि बीमा ऐन २०४९ को दफा ८ को उपदफा(घ२)ले दिएको अधिकार प्रयोग गरी दुर्घटना बीमा निर्देशिका जारी गरेको हो ।
दुर्घटना बीमालेख एक वर्ष वा सोभन्दा कम अवधिका लागि मात्रै जारी गर्न सकिने समितिद्वारा जारी गरिएको निर्देशिकामा उल्लेख गरिएको छ । यो बीमालेखलाई व्यक्तिगत र सामूहिक गरी दुई भागमा वर्गिकरण गरिएको छ ।
बीमालेख जारी गर्दा जारी भएको समय तथा जोखिम प्रारम्भ भएको मिति(घन्टा र मिनेटसहित) उल्लेख गर्नुपर्ने र बीमालेख जारी भएको मिति र जोखिम प्रारम्भ भएको मितिबिच ३० दिनभन्दा बढी दिनको फरक पारी बीमालेख जारी गर्न नपाइने समितिले जनाएको छ ।
बीमित वा बीमालेख धारकले अनुरोध गरेमा बीमकले एक वर्षभन्दा कम अवधिका लागि बीमालेख जारी गर्नुपर्नेछ । यस्तो बीमालेखलाई छाटो अवधिको बीमालेख नाम दिइएको छ । यस्तो छाटो अवधिको बीमालेखको बीमादर एक महिनासम्मका लागि वार्षिक शुल्कको २५ प्रतिशत, एक महिनादेखि तीन महिनासम्मका लागि ४० प्रतिशत, ३ महिनादेखि ६ महिनासम्मका लागि ६० प्रतिशत र ६ महिनादेखि १ वर्षसम्मका लागि वार्षिक शुल्कको सतप्रतिशत बीमादर निर्धारण गरिएको छ । छाटो अवधिका लागि जारी बीमालेख एकपटक जारी भईसकेपछि पुनः बढाउन नपाइने व्यवस्था गरिएको छ ।
यस्तै समूहमा आवद्ध भईसकेका व्यक्तिहरुको एउटै बीमालेखद्वारा सामूहिक बीमालेख जारी गर्न सकिने व्यवस्था गरिएको छ । तर सामूहिक बीमालेख जारी गर्नका लागि कुनै समूह खडा गर्न भने पाइने छैन र यसो गरेको प्रमाणित भएमा त्यस्तो बीमालेख स्वत रद्द गरिने समितिले जनाएको छ ।
व्यक्तिगत दुर्घटना बीमाका लागि न्यूनतम बीमादर प्रति व्यक्ति प्रतिहजार दुई रुपैयाँ निर्धारण गरिएको छ । यस्तो बीमाुशुल्कमा कुनै प्रकारको छुट र सहुलियत दिन नपाइने व्यवस्था गरिएको छ ।
सामुहिक दुर्घटना बीमालेख अन्तर्गत दुई जनादेखि पच्चीस जनासम्मको समूहका लागि प्रति व्यक्ति प्रति हजार न्यूनतम २ रुपैयाँ, २६ जनादेखि १ सय जनासम्मका लागि १.७५ रुपैयाँ र सय जनाभन्दा बढीका लागि १.५० रुपैयाँ बीमादर तोकिएको छ । क्षतिपूर्ति स्वरुप एक लाख रुपैयाँभन्दा बढी रकमको औषधोपचार खर्च लिन चाहेमा थप औषधोपचार खर्चका लागि थप गरिएको बीमांकको ५ प्रतिशत बीमाशुल्क कायम हुने व्यवस्था गरिएको छ ।
दुर्घटना बीमालेखको बीमाशुल्क गणना गर्दा प्रति बीमालेख एक सय रुपैयाँभन्दा कम बीमाशुल्क लिन नपाइने निर्देशिकामा उल्लेख गरिएको छ । तर लघुबीमालेख अन्तर्गत पर्ने बीमालेखको हकमा भने यो व्यवस्था लागू नहुने समितिले स्पष्ट पारेको छ ।
दुर्घटना बीमालेखको नामसारी वा स्वामित्व हस्तान्तरण नहुने समितिले जनाएको छ ।