काठमाण्डौ । बीमा समितिले बीमा सम्बन्धमा विद्यालय तथा विश्वविद्यालयस्तरीय निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ । समितिले चालु आर्थिक वर्ष २०७८/७९ मा ‘बीमाको महत्व’ शीर्षकमा विद्यालयस्तरीय र ‘जोखिम व्यवस्थापनमा बीमाको भूमिका’शीर्षकमा विश्वविद्यालयस्तरीय निबन्ध प्रतियोगिता आयोजना गर्न लागेको हो ।
समितिले देशमा बीमा क्षेत्रको समग्र विकास एवम विस्तारका साथै बीमा सम्बन्धि जनचेतना अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको र यसै सन्दर्भमा निबन्ध प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ ।
निबन्ध प्रतियोगितामा सहभागी हुन चाहने विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरुले सूचना प्रकाशित भएको तीन महिनाभित्र निबन्ध लेखी बीमा समितिमा उपलब्ध गराउनुपर्नेछ ।
विद्यालयस्तरीय निबन्ध प्रतियोगितका लागि कक्षा ५ देखि कक्षा १२ मा अध्ययनरत तथा कक्षा १२ को परीक्षा दिई नतिजा पर्खिरहेका विद्यार्थीहरुले कम्तीमा २ हजार शब्दको निबन्ध लेखी समितिलाई उपलब्ध गराउनुपर्नेछ ।
यस्तै विश्वविद्यालयस्तरीयका लागि कक्षा १२ भन्दा माथिल्लो कक्षामा अध्ययनरत विद्यार्थीहरुले कम्तीमा ३ हजार शब्दको निबन्ध लेखी पठाउनुपर्नेछ ।
विद्यालयस्तरीय निबन्ध प्रतियोगितामा सहभागी भई प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई क्रमशः २० हजार, हजार र ७ हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
यसैगरी विश्वविद्यालयस्तरीयमा सहभागी भई प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिनेछ ।