बीमा समितिका अध्यक्षमाथि ९ संगिन आरोप लगाउदै अख्तियारमा उजुरी

2020-10-05
बीमा समितिका अध्यक्षमाथि ९ संगिन आरोप लगाउदै अख्तियारमा उजुरी

काठमाण्डौ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई विरुद्ध आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। 

उनी विरुद्ध समितिमा नियुक्त भएलगतै १० वटा जीवन बीमा कम्पनी र ३ वटा निर्जीवन बीमा कम्पनीलाई इजाजतपत्र प्रदान गरी मनग्य कमिसन लिई भ्रष्टाचार गरेको, नेपाल सरकारलाई लघु बीमाको योगदान १२ प्रतिशत भनि झुठो विवरण दिएको लगाएतका विभिन्न ९ वटा शीर्षकमा उजुरी परेको हो। 

आयोगमा असोज ५ गतेको मितिमा  परेको बेनामे उजुरीमा जीवन बीमा, निर्जीबन बीमा कम्पनी दर्ता गर्दा, कम्पनीको स्थलगत निरीक्षण गर्दा, सवारी साधान गरिद गर्दा, अत्यधिक जिल्ला भ्रमण गर्दा, कोरोना बीमालेख जारी गर्दा, नीतिगत कार्य नगरी, समितिको विज्ञापन र कर्मचारीको सरुवा, बढुवा, आन्तरिक प्रणाली र संस्थागत सुशासन पालना गर्ने गराउने क्रममा आर्थिक हिनामिना गरी अधिकारको दुरुपयोग गरेको आरोप लागाइएको छ। 

उजुरी पत्रमा अध्यक्ष चापागाई नियुक्त हुनुअघि ९ वटा जीवन बीमा र १७ वटा निर्जीवन बीमा कम्पनी रहेकोमा उनी अध्यक्ष भएर आएपछि १० वटा थप जीवन बीमा र ३ वटा निर्जीवन बीमा कम्पनीलाई इजाजत दिएर अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाइएको छ। 

त्यसैगरी, १० वटा जीवन बीमा कम्पनीलाई इजाजत दिँन कम्पनी दर्ता गर्दा प्रतिसेयर १०० रुपैयाँ प्रमोटर सेयर हुनुपर्नेमा ११० र ११५ रुपैयाँसम्म उठाएको र ३ वटा निर्जीबन बीमा कम्पनीलाई इजाजत दिन कम्पनी दर्ता गर्दा प्रमोटर सेयर १०० रुपैयाँ हुनुपर्नेमा ११० र ११५ रुपैयाँ लिएर आर्थिक हिनामिना गरी मनग्य अवैध सम्पति आर्जन गरेको उल्लेख छ ।

समितिले बीमकको निरन्तर स्थलगत निरीक्षण गर्ने तर विगत ४ वर्षमा गरिएका निरीक्षण बीमकहरुको स्थलगत निरीक्षणको प्रतिवेदन संचालक समितिमासमेत पेश नभएको र कुनै कार्यान्वयन नगरेको र त्यसमा पनि ठूलो आर्थिक चलखेल गरेको आरोप लगाइएकोृ छ। 

यस्तै चाहिनेभन्दा बढी सवारी साधन खरिद गरी समितिको बढि खर्च गराएको र कमिसनका कारण चाहिनेभन्दा बढि मोटर खरिद गरेको आरोप लगाइएको छ। 

आर्थिक मितव्ययीता अपनाउनुपर्नेमा चापागाई अध्यक्ष भई आउनुअघि ६ वटा मोटर रहेको र हाल ७ वटा मोटर थप खरिद गरी १३ वटा पुर्याई उक्त सवारी साधन उपयोग गर्न पाउने अध्यक्ष सहित ६ जना मात्रै रहेकोमा चापागाईले हुन्डाईको अटोमेटिक सवारी साधन सहित ३,४ वटा मोटर संस्थाको लागिभन्दा पनि निजी प्रयोजनका लागि मात्र उपयोग गर्ने गरेको र समितिमा रहेको प्रयोगमा आइरहेका सवारी साधनहरु लिलाम गरी थप नयाँ सवारी साधन खरिद गरी सरकारको निर्देशन उल्लंघन गरेको उजुरी पत्रमा उल्लेख गरिएको छ।   

यस्तै कोरोना भाइरसको संक्रमण हुनु भन्दा पहिला अध्यक्ष लगायतका पदाधिकारीहरु हरेक हप्ता जिल्लामा होडिङ बोर्ड राख्ने, कम्पनीका शाखा कार्यालय उदघाटनजस्ता कार्यमा समय खर्चिएको र त्यसका लागि बीमाको प्रचारप्रसार र तालिम कार्यक्रम संचालन गर्ने वहानामा प्रत्येक हप्ता आन्तरिक दैनिक भ्रमण भत्ता लिएको उल्लेख गरिएको छ। 

यसैगरी हालको प्रविधिको विकाससँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय मूल्य मान्यताको आधारमा सोहि अनुरुपको प्रविधिको विकास, जनशक्तिको विकास र सोहि अनुरुपको भौतिक पूर्वाधार तयार गर्नुपर्नेमा यस्तो कुनै पनि कार्य नगरेको भन्ने समेत आरोप लगाइएको छ। 

उजुरी पत्रमा अध्यक्ष चापागाईले बीमाको सिद्धान्त तथा अन्तराष्ट्रिय मापदण्ड अनुरुप महामारी बीमा गर्न नमिल्नेमा आफु चर्चित हुनका लागि कोरोना बीमालेख जारी गरेको र हालसम्म १४ लाख बढिको कोरोना बीमालेख जारी भइसकेको अवस्थामा यदि कोरोना संक्रमित बढि भयो भने जोखिमको कभर हुने अवस्था नरहेकाले अनुमान , हचुवा र आफु चर्चित बन्ने अभिप्रायले बीमा क्षेत्र नै धरासाही हुने गरी कोरोना बीमालेख जारी गरेको गम्भिर आरोप लगाइएको छ। 

यस्तै उनले आफ्ना कुराहरुलाई प्रचार प्रसार गर्न विभिन्न टिभि च्यानल, पत्रपत्रिका अनलाइन खबरहरुलाई प्रशस्त विज्ञापन उपलब्ध गराएर अनावश्यक खर्च गरेको साथै वार्षिक कार्यक्रममा कुनै प्रतिस्पर्धा बिना नै गोरखापत्र बाहेको अन्य दैनिक पत्रिकालाई समेत विज्ञापन उपलब्ध गराएको उल्लेख गरिएको छ। 

अन्तिम बुँदामा समितिमा अध्यक्षलाई मन नपर्ने कर्मचारीहरुलाई वर्षमा ३ वटा शाखामा समेत सरुवा गर्ने गरेको, बढुवा, आन्तरिक नियन्त्रण प्रणाली र संस्थागत सुशासन सुधारको साटो उल्टो दिशातर्फ उन्मुख भएको र बीमा समिति बिजनेश हाउस जस्तो भएको भन्ने आरोप लगाइएको छ।          

   


Share this with your friends: