काठमाण्डौ । नियामक निकाय बीमा समितिले कृषि तथा पशुपंक्षी निर्देशिका, २०७७ जारी गरेको छ। समितिले बाली तथा पशुपंक्षी बीमा निर्देशन २०६९ लाई परिमार्जन गरी नयाँ कृषि तथा पशुपंक्षी निर्देशिका, २०७७ जारी गरेको हो।
नयाँ कृषि तथा पशुपंक्षी निर्देशिका जारी गर्दै बीमा समितिले सबै निर्जीवन बीमा कम्पनीहरुलाई वार्षिक कुल बीमालेखको संख्यामध्ये कम्तीमा ५ प्रतिशत बीमालेख कृषि तथा पशुपंक्षी बीमालेख अनिवार्य हुनुपर्ने जनाएको छ।
समितिले कृषि तथा पशुपंक्षी बीमालाई वनस्पति बीमा र जीवजन्तु बीमा गरी दुई भागमा वर्गीकरण गरेको छ। निर्देशिका अनुसार बीमकले कृषि तथा पशुपंक्षी बीमा व्यवसाय गर्दा अनुदान प्राप्त नहुने बीमाको हकमा पूरै रकम र अनुदान प्राप्त हुने बीमाको हकमा अनुदानबाट प्राप्त हुने रकम बाहेक बाँकी रकम प्राप्त गरे पश्चात मात्र बीमा लेख जारी गर्नुपर्ने व्यवस्था गरिएको छ। यस्तै बीमितले बीमा गर्न चाहेको वस्तुको आंशिक बीमा गर्न नपाउने व्यवस्था गरिएको छ।
नयाँ व्यवस्था अनुसार बीमालेख जारी गर्दा बीमालेख जारी भएको समय तथा जोखिम प्रारम्भ हुने मिति(घण्टा र मिनेट सहित उल्लेख गर्नु पर्ने व्यवस्था गरिएको छ। बीमालेखको अवधि फरक हुने गरी बीमालेख जारी गर्न नपाइने व्यवस्था गरिएको छ।
यस्तै छोटो अवधिको बीमालेखको समयावधि बढाउन नपाइने र गणना गर्दा समानुपातिक हिसाबमा गर्नुपर्ने व्यवस्था गरिएको छ।
नयाँ व्यवस्था अनुसार यो निर्देपिशका बमोपजम जारी भएका कृषि तथा पशुपंक्षी बीमालेख बाहेक अन्य जीवजन्तु तथा वनस्पति सम्बन्धि बीमालेख बिक्री गर्न नपाउने व्यवस्था गरिएको छ।
यस्तै मोटामोटी तथा अन्दाजी मूल्य राख्न नपाइने व्यवस्था गरिएको छ।
बीमकले बीमालेख जारी गर्नुअघि बीमा गरिएको वस्तु समेटिएको विभिन्न कोणबाट खिचिएको स्थिर फोटो कम्तीमा ५ वटा र कम्तीमा तीन मिनेटसम्मको भिडियो क्लिप प्रस्ताव फारमसँगै प्राप्त गर्नुपर्ने र यो प्राविधिक स्वयमले खिचेको हुनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ।
निर्देशिका अनुसार बीमांक मूल्य कायम गर्दा बजार मूल्य, बीजक मूल्य, र स्थानिय चलनचल्तीको मूल्यलाई आधारमानि आपसी सहमतिको आधारमा कायम गर्नुपर्ने छ।
यसैगरी नयाँ निर्देशिकामा बीमालेख जारी भइसकेपछि बीमांक परिवर्तन गर्न नपाइने व्यवस्था गरिएको छ।
अनुदान प्राप्त हुने बीमालेखमा दाबी परेपछि उक्त बीमालेख पुनस्र्थापना गर्न नपाइने र अनुदान प्राप्त नहुने बीमालेखकमा दाबी परेपछि बाँकी अवधिको लागि समानुपातिक बीमाशुल्क लिई पुनस्र्थापना गर्न सकिने नयाँ निर्देपशमा उल्लेख गरिएको छ।
यसैगरी बीमकले आफुलाई तोकिएको जिल्लामा प्राप्त कृषि तथा पशुपंक्षी बीमाको प्रस्ताव अस्विकार गर्न नपाउने व्यवस्था गरिएको छ।
नयाँ व्यवस्था अनुसार बीमा मध्यस्तकर्ता, कृषि तथा पशुपंक्षी बीमा अधिकर्ता र मूल्यांकनकर्ताको व्यवस्था समेत गरिएको छ।