काठमाण्डौ । बीरगञ्ज महानगरपालिकामा बीमासम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा समितिको आयोजनामा पुस १३ गते स्थानिय तहसँग बीमा कम्पनीको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
बीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल,महानगरपालिकाका उपप्रमुख शान्ति कार्की, बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल तथा निर्देशक दिनेश कुमार लाल, बीरगञ्ज महानगरपालिकाका वडा अध्यक्ष, सदस्य तथा प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरु, विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, शिक्षक, संचारकर्मी लगायत सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा समितिका अध्यक्ष सिलवालले बीमाको पहुँच वृद्धि गरी स्थानीय तहलाई सम्पत्ति वा घर बीमासम्बन्धी नीति ल्याउन आग्रह गर्दै बीमा कम्पनीसँग समन्वय गरेर घर बीमा अनिवार्य गर्न लगाउन सक्ने बताए । त्यस्तै उनले कृषि तथा पशुपन्छी बीमालेखमा सरलीकृत गरिने जानकारी दिँदै बीमा कम्पनीहरुलाई झुक्याएर बीमा गर्न आकर्षित गर्ने खालका विज्ञापन नगर्न र कृषि तथा पशुपन्छी सहित सबै बीमाको दाबी भुक्तानी तत्काल गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिइएको बताए।
सिलवालले नगरपालिका महासँघ र गाउँपालिका महासंघसँगमा पनि बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिने जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि बीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले बीमा समितिले बीमासम्बन्धी जनचेतना अभिवृद्धिका लागि स्थानीय तहसँगको समन्वयमा वडा–वडामा कार्यक्रम संचालन गर्नुपर्ने बताए ।
कार्यक्रममा बीमा समितिका निर्देशक दिनेशकुमार लालले बीमाको महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया र बीमाको दायरा विस्तारमा स्थानीय तहको भूमिका लगायतका विषय समेटिएको बीमा कार्यपत्र प्रस्तुत गरेका थिए ।