मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड

2021-07-12
मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड

काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान क्यापिटलकै कार्यालयमा सेयर बाँडफाँड गरेको हो ।

कम्पनीले यही असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको थियो । संस्थाको आईपीओमा १९ लाख ५४ हजार २७४ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये दुई हजार ७५३ जनाको आवेदन रद्द हुँदा १९ लाख ५१ हजार ५२१ जना योग्य आवेदक कायम गरिएको क्यापिटलले जनाएको छ ।

मागभन्दा बढीको आवेदन परेपछि क्यापिटलले योग्य रहेका उक्त आवेदकलाई गोलाप्रथामा सहभागी गराई सेयर बाँडफाँट गरेको थियो । जसअनुसार गोलाप्रथाबाट ३६ हजार ३४९ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । तीमध्ये दुई जनाले ११ कित्ता सेयर पाएका छन् । आवेदन दिएकामध्ये १९ लाख १७ हजारभन्दा बढी आवेदकको हात खाली भएका छन् ।

कम्पनीले रु. तीन करोड ८९ लाख बराबरको तीन लाख ८९ हजार ४९२ कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानीका लागि र छ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहेको तीन लाख ६३ हजार ४९२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । आइपिओको नतिजा मेरोसेयर, सिडिएसले आईपीओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।


Share this with your friends: