काठमाण्डौ । मनकामना इञ्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन प्रयोजनका लागि बिओके क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले २४ लाख कित्ता साधारण सेयर निष्कासनका लागि बिओके क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २४ करोड रुपैयाँ बराबरको २४ लाख कित्ता आइपीओ निश्कासन गर्ने भएको हो ।
मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेड तथा बीओके क्यापिटलबीच भदौ २० गते आइतबारको दिन सेयर निश्कासनमा बिक्री प्रबन्धकको काम गर्ने विषयमा सम्झौता भएको छ । सम्झौतामा मनकामना इन्जिनियरिङ्गको तर्फबाट संचालक समितिका अध्यक्ष कृष्णबहादुर उप्रेती र बीओके क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरे ।
साथै, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु समेत बीओके क्यापिटलले नै गर्नेछ।
मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर दोलखास्थित ५ मेगावाट विद्युत उत्पादन क्षमता रहेको कम्पनी हो । २०६७ साल श्रावण ०२ गते स्थापित यस कम्पनीले मिति २०७७ साल कार्तिक २३ गतेदेखि पूर्ण रुपमा विद्युत उत्पादन गरी पूर्ण सञ्चालनमा आइसकेको छ ।