काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले सर्वसाधारणका लागि यहि कात्तिक २६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ।
यसअघि पहिलो चरणमा आयोजना प्रभावितका लागि आईपीओ गरेको कम्पनीले अब दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँबराबरको आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट अनुमति पाएको थियो। कम्पनीले रु। १०० अंकित दरका ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो।
त्यसमध्ये कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गर्न लागेको हो। जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिएको छ। सर्वसाधारणले बाँकी १८ लाख ३० हजार २६५ कित्ता साधारण सेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओको निष्कासन छिटोमा मंसिर २ गते र ढिलोमा मंसिर १० गते (बैंकिङ समयपछि) बन्द हुनेछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र सीबीआईएल क्यापिटल लिमिटेड रहेका छन्।
यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयका लागि १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँबराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गरेको थियो।