काठमाण्डौ । मिस्ट्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा माउन्टेन इनर्जी नेपालले निर्माण गरेको आयोजनाबाट उत्पादित विद्युत बिहीबारदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो ।
१५ दिन सम्म परीक्षणको रुपमा उत्पादन भए पछि व्यवसायिक उत्पादन हुने आयोजनाले जनाएको छ ।
माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको ४२ मेगावाट क्षमताको मिरिट्रीखोला जलविद्युत आयोजनाबाट उत्पादीत विद्युत अन्नपूर्ण गाउँपालिका–३ दाना स्थित सवस्टेशनमार्फत केन्द्रिय प्रणालीमा विद्युत् पठाइएको छ ।
यो आयेजना प्रतिमेगावाट १३ करोड ४३ लाख रुपैयाँ लागतमा सम्पन्न भएको छ । आयोजनामा नबिल बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी नेपाल, लक्ष्मी, सिद्धार्थ र एस डेभलपमेन्ट बैंकले ऋण लगानी गरेका छन् । यस्तै यो आयोजनामा भाटभटेनी समूह, आइएमई समूह, किया मोटर्स, सिटी मनी एक्सप्रेसलगायत व्यापारिक घरानाले स्वपुँजी लगानी गरेका छन् ।
पाँच अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा प्रवद्र्धकबाहेक नेपाल इन्भेस्टमेन्ट बैंकले ७० करोड रुपैयाँ, जलविद्युत् विकास कम्पनीले एक अर्ब रुपैयाँ र नेपाल बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन्।
यसैगरी नबिल बैंकले एक अर्ब, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र एस डेभलपमेन्ट बैंकले ३० करोड रुपैयाँ ऋण लगानी गरेको छ।
२०७३ जेठ ३१ गतेदेखि निर्माण सुरु भएको आयोजना यसअघि नै प्रणालीमा जोडिइसक्नु पर्ने भए पनि प्रसारण लाइन निर्माणमा भएको ढिलाई, प्राकृतिक प्रकोप, कोरोना महामारीलगायत कारणले प्रभावित हुन पुगेको थियो ।