माथिल्लो तामाकोशीको सुरुङमा पानी पठाइयो, चाँडै परीक्षण उत्पादन हुने

2021-04-29
माथिल्लो तामाकोशीको सुरुङमा पानी पठाइयो, चाँडै परीक्षण उत्पादन हुने

काठमाण्डौ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सूरुङमा पानी खसाल्ने कामको शुुभारम्भ गरिएको छ । आयोजनाको सूरुङमा पानी खसाल्ने कामको शुुभारम्भ भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेबाङ र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङले आज संयुक्त रुपमा गरेका हुन् । 

दोलखाको लामावगरमा रहेको ४५६ मेघावाट विद्युत् क्षमताको यो आयोजना हालसम्मकै सवैभन्दा ठूलो लगानीको परियोजना हो ।

केहीदिनभित्रै उक्त आयोजनाबाट विद्युत उत्पादन कार्य हुने र त्यसको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।

अपर तामाकोशीको लागत ब्याज पुँजीकरणसहित ७६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । निर्माणमा ढिलाइ हुँदा ब्याज पूँजीकरण मात्रै २४ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। गएको वर्ष कम्पनीले आयोजनाको जम्मा लागत ४९ अर्ब २९ करोड रुपैयाँ लाग्ने भन्दै सार्वजनिक गरेको थियो । तर यस वर्ष थप तीन अर्ब रुपैयाँले बढेर लागत ५२ अर्ब २९ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । जम्मा लागत र लागतको ब्याज पुँजीकरण सहित ७६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।


Share this with your friends: