काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(जेठ ९ गते)देखि विधिवत रुपमा मोबाइल बैंकिङ सेवाको सुरुवात गरेको छ ।
संस्थाका अध्यक्ष टेकबहादुर बोहराले आफ्नो मोबाइलमा मिर्मिरे स्मार्ट एप डाउनलोड गरी रजिस्टर गरेर विधिवत रुपमा उक्त सेवा संचालनमा ल्याएका हन् । कोभिडले देशव्यापी रुपमा निषेधाज्ञा तथा शिल भइरहेको अवस्थामा आफ्ना ग्राहकहरुलाई आर्थिक कारोवार गर्न सहज होस् भन्ने उद्देश्यले सेवा सुचारु गरिएको संस्थाका अध्यक्ष बोहराले बताए।
यस्तै आजैबाट ग्राहकहरुले मोवाइल बैंकिङमार्फत आफ्नो स्टेटमेन्ट हेर्ने, मोबाइलमा व्यालेन्स टपअप गर्ने, टेलिभिजन तथा इन्टरनेट, टेलिफोनको बील भुक्तानी गर्ने, इसेवा, खल्ती तथा फोन पे जस्ता डिजिटल वालेटहरुमा रकम ट्रान्सफर गर्ने, क्यु आर कोड बाट भुक्तानी गर्ने, ५० भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरुमा रकम राख्न तथा झिक्न र विजुलीको बिल भुक्तानी गर्न, घरेलु हवाइ टिकट बुकिङ गर्नेलगायत दुई दर्जनभन्दा बढी सेवाहरु घरमा बसेर नै लिन सकिने संस्थाका सहायक कार्यकारी अधिकृत बिर्खबहादुर बोहराले जानकारी दिए।
इन्फो डेभलपर्स संगको सहकार्यमा तयार पारिएको मोबाइल बैंकिङ सेवा सरल तथा ग्रामीण क्षेत्रका न्यून साक्षर भएका सदस्यहरुले पनि सहजै चलाउन सकिने तरिकाले बनाइएको संस्थाका सूचना तथा प्रविधि विभाग प्रमुख अनुप श्रेष्ठले बताए।
आगामी दिनमा स्पट बैंकिङ तथा अन्य लघुवित्त मैत्री तरिकाले सेवा अद्यावधिक गर्नै लैजाने र वर्तमान अवस्थामा मिर्मिरेले सेवा सुचारु गरेर ठूलो फड्को मारेको इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले बताए।
ग्राहकहरुले एन्ड्रोइड फोनमा गुगलको प्लेस्टोर तथा आइ फोनमा एप स्टोर बाट मिर्मिरे स्मार्ट एप टाइप गरी उक्त एप्लिकेसन डाउनलोड गर्न सक्नेछन्।