काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ बाँडफाँड गरिएको छ।
आज(साउन २६ गते)काठमाण्डौ नक्सालस्थित नारायणचौमा रहेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बिहान ९ बजे एक कार्यक्रमबीच मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँड गरिएको हो।
कम्पनीद्वारा जारी आईपीओमा कुल २० लाख ६७ हजार ९६७ आवेदकबाट २ करोड ६८ लाख ४० हजार ८८० कित्ताका लागि आवेदन परेको थियो। कुल आवेदनमध्ये २० लाख ६५ हजार १२४ आवेदन सदर भएको छ ।
मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आईपीओ बाँडफाँड गोलाप्रथा मार्फत गरिएको छ । गोलाप्रथामार्फत आईपीओ बाँडफाँड गर्दा ६८ हजार ४७४ जनाले १०/१० कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् । यस्तै१० कित्ताभन्दा माथि आवेदन दिनेमध्ये गोलाप्रथाबाट ६ जनाले थप १÷१ कित्ताका दरले सेयर पाएका छन्।
कम्पनीले गत साउन १४ गतेबाट प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुन आउने ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।