काठमाण्डौ । यो साता लगभग सबै जसो बीमा कम्पनीहरुको सेयरमूल्यमा बढोत्तरी आएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा कोरोबार भएका अधिकांस जीवन र निर्जीवन बीमा कम्पनीहरुको सेयरमूल्यमा यो एक साताको अवधिमा वृद्धि भएको हो।
यो साता दुईवटा जीवन बीमा कम्पनीहरुबाट अन्य सबै जीवन बीमा कम्पनीको सेयरमूल्यमा उछाल आयो। जीवन बीमातर्फ एक साताको अवधिमा एशियन लाइफको सेयरमूल्यमा सर्वाधिक बढोत्तरी आयो। गत साताको अन्तिम कारोबार दिन ११६६ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य यो साताको अन्तिम कारोबार दिन प्रतिकित्ता १२७० रुपैयाँ कायम भयो। यसरी एक यो एक साताको अवधिमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता १०४ रुपैयाँले बढ्यो।
त्यस्तै रिलायन्स लाइफको सेयरमूल्य पनि ९७ रुपैयाँले बढ्यो। गएको साता प्रतिकित्ता ६६८ रुपैयाँ रहेको कम्पनीको सेयरमूल्य यो साता ७६५ रुपैयाँको उचाईमा पुग्यो।
यो अवधिमा नेशनल लाइफ इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता ६० रुपैयाँले बढ्यो भने प्राइम लाइफको ४७ रुपैयाँ, सूर्या लाइफ २७ रुपैयाँ र गुराँस लाइफको सेयरमूल्य प्रतिकित्ता १५ रुपैयाँका दरले बढ्यो।
जीवन बीमातर्फ यो साता नेपाल लाइफको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। नेपाल लाइफको सेयरमूल्य प्रतिकित्ता ८७ रुपैयाँले घट्यो। गत साता २३४९ रुपैयाँ रहेको कम्पनीको सेयरमूल्य यो साताको अन्तिम कारोबार दिन प्रतिकित्ता २२६२ रुपैयाँमा सीमित बन्यो। यस्तै लाइफ इन्स्यारेन्स कर्पोरेशनको सेयरमूल्य पनि प्रतिकित्ता ३६ रुपैयाँका दरले घट्यो।
निर्जीवन बीमा कम्पनी
यो एक साताको अवधिमा एउटा मात्रै बीमा कम्पनीको सेयरमूल्यमा गिरावट आयो भने अन्य सबै कम्पनीको सेयरमूल्य उकालो लागे। निर्जीवन बीमा कम्पनीतर्फ यो साता सानिमा जनरलको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य प्रतिकित्ता १०२ रुपैयाँले बढ्यो। गत साताको अन्तिम कारोबार दिन ६४० रुपैयाँ रहेको कम्पनीको सेयरमूल्य यो साताको अन्तिम कारोबार दिन ७४२ रुपैयाँ कायम भयो।
यसैगरी गत साता ९९० रुपैयाँ रहेको एनएलजी इन्स्योरेन्सको सेयरमूल्य यो साता १०८९ रुपैयाँको उचाईमा पुग्यो। यसरी एक साताको अवधिमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९९ रुपैयाँले बढ्यो। यो अवधिमा सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य पनि ९४ रुपैयाँले वृद्धि भयो। त्यस्तै जनरल इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता ९० रुपैयाँ, अजोड इन्स्योरेन्स ८७ रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्स ८१ रुपैयाँ, आइएमई जनरल ७० रुपैयाँ, नेपाल इन्स्योरेन्स ६३ रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्स ६१, शिखर इन्स्योरेन्स ४७ रुपैयाँ, युनाइटेड इन्स्योरेन्स ४२ रुपैयाँ, प्रभु इन्स्योरेन्स ४० रुपैयाँ, एभरेष्ट इन्स्योरेन्स ३४ रुपैयाँ, नेको इन्स्योरेन्स ३२ रुपैयाँ, लुम्बिनी जनरल ३० रुपैयाँ र हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता २० रुपैयाँका दरले बढ्यो।
यो साता प्रिमियर इन्स्योरेन्सको सेयरमूल्यमा भने कुनै पनि परिवर्तन आएन। गत साता १२९० रुपैयाँ रहेको कम्पनीको सेयरमूल्य यो साता पनि १२९० रुपैयाँका साथ बन्द भयो। आइतबार एक दिन मात्रै कारोबार भएको राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य ६५२ रुपैयाँले घट्यो। नेपाल स्टक एक्सचेन्जले कम्पनीको सेयर कारोबार रोक्का गरेकाले साताको बाँकी दिन कम्पनीको सेयर कारोबार हुन सकेन।