काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सगरमाथाको सफल आरोहण गरेका बाबु पूर्णकुमार शेर्पा र छोरा सोनाम शेर्पाको फादर एन्ड सन्स क्याम्पेनलाई सहयोग पुग्ने गरी चेक हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘प्रकति जोगाऔँ, जलवायु परिवर्तन न्यूनीकरण गरौँ’ भन्ने मूल नाराका साथ प्रकृति जोगाऔँ महाअभियानअन्तर्गत सहयोग प्रदान गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले ३ लाख रुपैयाँबराबरको चेक आरोहणदललाई संयोजन गरिरहेको संस्था ग्लोबल्ली कन्सर्न सेन्टर फर क्लाइमेट चेन्जलाई मंगलबार हस्तान्तरण गरेका छन्। कार्यक्रममा गत मे २३ का दिन सगरमाथाको चुचुरोमा फहराइएको राष्ट्रिय वाणिज्य बैंकको झन्डाको तस्बिर बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई सगरमाथा आरोहीहरुले हस्तान्तरण गरेका थिए।
फादर एन्ड सन्स् क्याम्पेनले प्रकृति जोगाऔँ महाअभियानअन्तर्गत सात माहदेश र पाँच समुद्रको सफाइ विश्वकै पहिलोपटक गर्ने जनाएको छ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकको झन्डा सगरमाथाको चुचुरोमा फहराएकोमा आरोही दललाई धन्यवाद ज्ञापन गर्दै कीर्तिमान कायम गर्नेमात्र नभएर वातावरण संरक्षण गर्ने विश्व अभियानलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए।
सगरमाथा हिमाल आरोही पूर्णकुमार शेर्पाले गत मे २३ का दिन बाबु–छोराले सगरमाथाको सफल आरोहण गरी अभियान सुरु गरेको बताए।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, समरमाथा आरोही सोनाम शेर्पा, संयोजक राज बराइलीले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम ब्रान्च अपरेसन विभागका विभागीय प्रमुख सरोज वस्नेतले सञ्चालन गरेका थिए।
कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतद्वय देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, कम्पनी सचिवलगायत कर्मचारीहरुको उपस्थिति थियो।