काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले कोभिड १९ बाट प्रभावित आफ्ना ग्राहकहरुलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको छ ।
हाल विश्वव्यापी रुपमा देखा परेको कोभिड १९ बाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि नेपाल सरकारले वार्षिक बजेट तथा नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत विभिन्न नीतिगत सहुलियतका कार्यक्रमहरु ल्याएको र सोही सन्दर्भमा राष्टबैंकले २०७८ जेठ ११ गते परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना ग्राहकहरुलाई प्रोत्सहन स्वरुप ब्याजदर वा ब्याज रकममा छुट प्रदान गर्नसक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
यो छुटले कर्जा भुक्तानी गर्न सहज हुने र तथा व्यवसायको निरन्तरता एवम् पुनरुत्थानमा सहयोग पुग्ने अपेक्षा बैंकले गरेको छ । २०७८ साल असार मसान्तभित्र कर्जाको किस्ता र ब्याज बुझाउने कोभिड १९ बाट प्रभावित ग्राहकहरुलाई प्रचलित ब्याज रकमको १० प्रतिशत रकम छुट प्रदान गर्ने निर्णय गरिएको बैंकले जनाएको छ ।
ब्याज रकममा छुटको सुविधाबाट बैंकका ७ प्रदेशका २४७ शाखा कार्यालयका १ लाख ८० हजार भन्दा बढी ग्राहक लाभान्वित हुने बैंकले जनाएको छ ।