राष्ट्रिय वाणिज्य बैंक र एनबीआईबीच बैंकिङ तालिम सञ्चालन गर्ने सम्झौता

2021-08-12
राष्ट्रिय वाणिज्य बैंक र एनबीआईबीच बैंकिङ तालिम सञ्चालन गर्ने सम्झौता

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड (एनबीआई) बीच बैंकिङ तालिम सञ्चालन गर्नेसम्बन्धी बिहीबार सम्झौता भएको छ। 

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र एनबीआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन्। उक्त सम्झौता भएपश्चात गत वर्षजस्तै चालु आर्थिक वर्ष २०७८र७९ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिवृद्धिका लागि एनबीआईले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ तालिम प्रदान गर्नेछ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले लिएको उद्देश्य हासिल गर्नका लागि नियमित रुपमा कर्मचारीहरुलाई तालिम दिइरहेको बताए। उनले तालिमले बढिरहेको जोखिमको सामना गर्न सघाउ पुगेको उल्लेख गरे। 

एनबीआईका प्रमुख कार्यकारी अधिकृत लम्सालले बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई प्राथमिकताका साथ तालिम दिने गरेको उल्लेख गर्दै तालिमले बैंकिङ क्षेत्रमा भएको ज्ञानको कमीलाई पूरा गरेको बताए। उनले निकट भविष्यमा नै एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीसँग मिलेर बैंकिङ तथा वित्तीय विषयमा एकवर्षे स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सुरु गर्नेसमेत जानकारी दिए। 

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले कार्यक्रमबारे प्रकाश पारेका थिए भने सिकाइ तथा विकास विभागका विभागीय प्रमुख दीपकराज न्यौपानेले कार्यक्रम सञ्चालन गरे। 

उक्त समारोहमा बैंकका उपकार्यकारी अधिकृतद्वय देवेशप्रसाद लोहनी, देवेन्द्र रमण खनाल, मानव संशाधन विभागका प्रमुख भीमप्रसाद घिमिरे, कम्पनी सचिव भोलानाथ पौडेल, एनबीआईका तर्फबाट हेड अफ प्रोग्राम धन थापा, प्रोग्राम म्यानेजर दर्पण श्रेष्ठलगायतको उपस्थिति थियो।  

बैंकले हाल सातै प्रदेश ७७ जिल्लामा २४७ वटा शाखा, २०९ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। 


Share this with your friends: