राष्ट्र बैंकका गभर्नर र अष्ट्रेलियाका राजदूतबीच शिष्टाचार भेट

2021-03-24
राष्ट्र बैंकका गभर्नर र अष्ट्रेलियाका राजदूतबीच शिष्टाचार भेट

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलेसीटी जेन भोल्कबीच शिष्टाचार भेट सम्पन्न भएको छ ।

सो अवसरमा दुई देशबीचको आपसी सम्बन्ध तथा लगानीप्रवद्र्धन लगायतका विषयमा छलफल भएको थियो । गभर्नर अधिकारीले नवनियुक्त राजदूतलाई बधाई तथा सफल  कार्यकालको शुभकामना दिदै आगामी दिनमा दुई देशबीचको ६१ वर्ष लामो सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गर्नुका साथै उनीसँग मिलेर काम गर्न इच्छुक रहेको कुरा बताए । सो अवसरमा अष्ट्रेलियन राजदूतले नेपालका एक लाख भन्दा बढी व्यक्ति अष्ट्रेलियामा बसोबास गरिरहेको तथा ५२ हजार विद्यार्थी अष्ट्रेलियामा रहेको र यो सङ्ख्या चीन र भारतपछिको तेस्रो ठूलो सङ्ख्या रहेको उल्लेख गर्दै गैर आवासीय गतिविधिमा एनआरएन अष्ट्रेलियाको भूमिका बढ्दै गएको जानकारी गराईन।

उक्त अवसरमा अष्ट्रेलियन राजदूत तथा गभर्नर अधिकारीबीच नेपालमा वैदेशिक लगानी सम्बन्धमा छलफल समेत भएको थियो । छलफलमा गभर्नर अधिकारीले नेपालले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्न समेत वैदेशिक लगानी अत्यावश्यक रहेको स्पष्ट पारे । यसका साथै उनले नेपालले आफ्नो व्यावसायिक वातावरण सुधार गर्दै लगेको र नेपालको डुइङ बिजनेश इनडेक्स मा पनि सुधार भइरहेको जानकारी दिए ।

रिप्याट्रिएसनका सम्बन्धमा राजदूतले  राखेको चासोका सम्बन्धमा गभर्नर अधिकारीले नेपालको रिप्याट्रिएसन सम्बन्धी व्यवस्था अझ सरल एवम् लगानीमैत्री हँुदै गएको जानकारी दिए । अष्ट्रेलियन राजदूतले कोभिड १९ महामारीको समयमा पनि नेपालले आर्थिक क्रियाकलाप सुचारु गर्न सक्षम भएकोमा बधाई ज्ञापन गरिन् । गभर्नर अधिकारीले बैंकले पुनर्कजा कोषको आकार बढाइएका कारण अर्थतन्त्रमा तरलता बढ्न गएको तथा ऋणको व्याजदर घट्न गएका कारणले ऋणीहरुलाई व्यवसाय टिकाउन सहज भएको स्पष्ट पारे । सो भेटघाटका अवसरमा गभर्नरको कार्यालयका कार्यकारी निर्देशक डा. नेफिल मातङ्गि मास्के, निर्देशक नारायणप्रसाद पोखरेललगायतको उपस्थिति रहेको थियो ।

 


Share this with your friends: