काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा करिब दुई अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।
बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ९३ करोड ६४ लाख रुपैयाँ वाणिज्य बैङ्क, विकास बैङ्क र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६५ दिने निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले यो रकम वि.स २०७८ वैशाख २ गतेदेखि २०७९ वैशाख १ गतेसम्म ३६५ दिनको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
बैंकले ‘क’ वर्गका वाणिज्य बैङ्कमा १ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैङ्कहरूमा २९ करोड चार लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरूमा ९ करोड ६८ लाख रुपैयाँ गरी कुल एक अर्ब ९३ करोड ६४ लाख रुपियाँ लगानी गर्न बोलपत्र आह्वान गरेको छ ।
आगामी वैशाख २ गतेदेखि २०७९ वैशाख १ गतेसम्म ३६७ दिनका राख्न लागेको निक्षेप लिन चाहने बैङ्क तथा वित्तीय संस्थाहरूले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदरसमेत उल्लेख गरी चैत १८ गते २ बजेभित्र सिलबन्दी प्रस्ताव पेस गनुपर्ने बैङ्कले जनाएको छ ।
मुद्दती निक्षेप लिनका लागि बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्ने, बैङ्कबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको तथा निष्क्रिय कर्जा कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको हुनुपर्ने छ ।
यस्तै कर्जा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैङ्कले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्ने तथा आव २०७६/७७ मा सञ्चालन मुनाफामा रहेको तथा रियल स्टेट कर्जा बैङ्कबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने छ ।
लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैङ्कले जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक उक्त संस्थामा कायम नरहेको हुनुपर्ने छ ।
शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्नेछ । बैङ्क तथा वित्तीय संस्था नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने बैंकले जनाएको छ ।