काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा करिब ६४ करोड ६३ लाख ५९ हजार ७ सय रुपैयाँ लगानी गर्ने भएको छ ।
बैंकले लघुवित्त संस्था सुपरिवेक्षण विभागबाट सञ्चालित विभिन्न आयोजनाहरुको कोषमा रहेको मौजाद रकम लगानी गर्न लागेको हो ।
बैंकले कुल रकममध्ये ५१ करोड ४४ लाख ६२ हजार ९६० रुपैयाँ १ वर्षे मुद्दती निक्षेपमा र १३ करोड १८ लाख ९६ हजार ७४० रुपैयाँ कल निक्षेपमा लागनी गर्न लागेको हो ।
राष्ट्र बैंकद्वारा उल्लेखित सर्तहरु पुरा गरेका बैंक तथा वित्तिय संस्थाहरुले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदरसमेत उल्लेख गरी जेठ ११ गते ४ बजेभित्र सिलबन्दी प्रस्ताव पेस गनुपर्ने बैङ्कले जनाएको छ ।
मुद्दती निक्षेप लिनका लागि बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्ने, बैङ्कबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको तथा निष्क्रिय कर्जा कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको हुनुपर्ने छ ।
यस्तै खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको, कर्जा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैङ्कले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्ने तथा आव २०७६÷७७ मा सञ्चालन मुनाफामा रहेको तथा रियल स्टेट कर्जा बैङ्कबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने छ ।
लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैङ्कले जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक उक्त संस्थामा कायम नरहेको हुनुपर्ने छ ।
शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्नेछ । बैङ्क तथा वित्तीय संस्था नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने बैंकले जनाएको छ ।