राष्ट्र बैंकद्वारा हिमालयन–इन्भेष्टमेन्ट र नवील–यूनाइटेडको मर्जरलाई एलओआई प्रदान

2021-06-01
राष्ट्र बैंकद्वारा हिमालयन–इन्भेष्टमेन्ट र नवील–यूनाइटेडको मर्जरलाई एलओआई प्रदान

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक तथा नवील बैंक र यूनाइटेड फाइनान्सबीचको जारी मर्जर प्रक्रियालाई लेटर अफ इन्टेन्ट(एलओआई) दिने निर्णय गरेको छ । 

राष्ट्र बैंकको आज बसेको बोर्ड बैठकले यी चार संस्थालाई मर्जरका लागि एलओआई दिने निर्णय गरेको हो ।

नबिल बैंकले यूनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने गरी बैशाख १७ गते सम्झौता गरेको थियो । नबिलले युनाइटेडलाई रु.३५ स्वाप रेसियोमा प्राप्ती गर्न लागेको हो । 
बैंकका मर्जर कमिटीका संयोजक उदय कृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिषकुमार खेमकाले प्राप्तीका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । प्राप्तीपछि युनाइटेड फाइनान्सको सम्पूर्ण कारोबार नबिलकै नाममा हुने र संचालक समितिमा पनि नबिल बैंककै रहने गरि सम्झौता भएको छ ।

यसैगरी हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच गत बैशाख ३० गते मर्जर सम्झौता सम्पन्न भएको थियो । 
यी दुई बैंकबीच १ बराबर १ को सेयर स्वाप अनुपातमा मर्जर गर्ने समझदारी बनेको हो । मर्जरपछि बन्ने बैंकको अध्यक्षमा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी पाण्डे हुने छन् । यसैगरी, प्रमुख कार्यकारी अधिकृतको रुपमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा हुने छन् । नयाँ बन्ने बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा नेपाल इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे रहने भएका छन् ।

दुई ठूला बैंक मर्जर भएपछि निक्षेप, कर्जा तथा चुक्ता पूँजीमा सबैभन्दा ठूलो बैंक हुने छ । बैंकको नाम हिमालयन इन्भेष्टमेन्ट बैंक राख्ने सहमति भएको छ । 


Share this with your friends: