रिलायन्स फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

2021-05-05
रिलायन्स फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। आज (वैशाख २२ गते)कम्पनीको ११ औँ वार्षिक साधारण सभा भर्चुअल माध्यम जुम एपमार्फत सम्पन्न भएको हो । 

सभामा संस्थाको सञ्चालक समितिबाट प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांस गरी कुल १०.५३ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ । यस्तै बोनस सेयरपश्चात कायम हुने चुक्तापूँजी रु।९१ करोड ५६ लाख ५७ हजार ६६९ कायम गरी चुक्तापूँजी तथा जारी पूँजी वृद्धि गर्ने तथा सोहि अनुरुप संस्थाको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव पारित गरिएको छ । 

सभामा अन्य कुनै बैंक, विकास बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने, प्राप्ति वा विलय गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिएको छ। यसैगरी सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिएको आ.व २०७६÷७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहित आ.व २०७६÷७७ असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आ.व २०७७÷७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिएको छ। 


Share this with your friends: