काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले आयोजना प्रभावितका लागि निष्कासन गरेको आईपीओको बाँडफाँड सम्पन्न गरिएको छ। कम्पनीले गुल्मी जिल्लाका आयोजना प्रभावितका स्थानियका लागि निष्कासन गरेको ४ लाख ७ हजार ७०५ कित्ता सेयर बाँडफाँड गरेको हो।
कम्पनीले गुल्मी जिल्लाका आयोजना प्रभावितका लागि गत फागुन ७ गतेदेखि ४ लाख ७ हजार ७०५ कित्ता सेयर आईपीओ निष्कासन गरेको थियो। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। क्यापिटलका अनुसार आयोजना प्रभावितका लागि निष्कासित आईपीओमा १८ हजार ०९३ आवेदकबाट २४ लाख १७ हजार ६४० कित्ताका लागि आवेदन परेको थियो।
अब कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि प्रतिकित्ता १२० रुपैया अंकित दरका ४ लाख ७ हजार ७०६ कित्ता सेयर निष्कासन गर्नेछ। दुवै चरणमा आईपीओ निष्कासन गरिसेकपछि कम्पनीको चुक्तापूँजी ४० करोड ७७ लाख रुपैयाँ र संस्थापक तथा सर्वसाधारण सेयर अनुपात ८०ः२० पुग्नेछ।