काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले आगामी चैत २० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले दोस्रो चरण अन्तर्गत आम सर्वसाधारणसका लागि ४ लाख कित्ता बढी सेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले रु.१०० अंकित दरमा प्रिमियम रु.२० थप गरी जम्मा मूल्य रु.१२० मा कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँ बराबरको ४ लाख ७ हजार ७०८ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।
कुल कित्तामध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता सामूहिक लगानी कोष(म्युचुअल फन्ड)का लागि छुट्याइएको छ। बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सेयर भने आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। यो आईपीओमा आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाका लागि छुट्याइएको सेयरमा आवेदन दिएका बासिन्दा बाहेककाले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सि–आस्वा प्रणालीबाट आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्था मार्फत आवेदन दिन सक्नेछन्।
यो आईपीओको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। आईपीओको निष्कासन बन्द छिटोमा चैत २४ गते र ढिलोमा २०७८ बैशाख ३ गते बैंकिङ समयपछि हुनेछ।
कम्पनीले पहिलो चरण अन्तर्गत गुल्मी जिल्लाका आयोजना प्रभावितका लागि गत फागुन ७ गतेदेखि ४ लाख ७ हजार ७०५ कित्ता सेयर आईपीओ निष्कासन गरेको थियो। दुवै चरणमा आईपीओ निष्कासन गरिसेकपछि कम्पनीको चुक्तापूँजी ४० करोड ७७ लाख रुपैयाँ र संस्थापक तथा सर्वसाधारण सेयर अनुपात ८०ः२० पुग्नेछ।
कम्पनीका बारेमा
रुरु जलविद्युत परियोजना कम्पनी ऐन २०६३ बमोजिम वि.स २०६२ चैत ९ गते प्राइभेट लिमिटेडको रुपमा दर्ता भई वि.स २०७२ साउन ७ गते प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा परिणत भएको कम्पनी हो। कम्पनीले लुम्बिनी अञ्चलको गुल्मी जिल्लामा अवस्थित हुग्दी खोलाको पानी प्रयोग गरी २५०० किलोवाट क्षमताको माथिल्लो हुग्दी खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ। उक्त आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई प्रसारण प्रणाली भएको ठाउँमा पुर्याई बिक्री गर्ने र प्राधिकरणले पनि उक्त आयोजनाबाट उत्पादन हुने विद्युत शक्ती खरिद गर्ने सम्झौता २०६३ असोज ४ गते गरिसकेको छ।
अहिले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा न.४,६,७ र ८ मा निर्माण सम्पन्न ५ मेगावाट क्षमताको माथिल्लो हुग्दी जलविद्युत आयोजनाको व्यवसायिक सञ्चालन भईरहेको छ।
परियोजनाको हालसम्मको अवस्था अत्यन्तै राम्रो रहेको छ जुन कुरा परियोजनाले इक्रा रेटिङ लिमिटेड नेपालबाट प्राप्त गरेको रेटिङको ग्रेडले समेत प्रष्ट पार्छ। इक्रा नेपाले परियोजनालाई आईसीआरएएनपी आईपीओ ग्रेड थ्री ग्रेडिङ दिएको छ।
आर्थिक सामाजिक तथा प्राविधिक दृष्टिकोणबाट कुनै समस्या नरहेको यस परियोजनामा जडान गरिएका उपकरणहरु राम्रंो अवस्थामा रहेको कम्पनीले जनाएको छ। वर्षायाममा खोलामा पानीको मात्रा बढ्न गई हाल आयोजनाले प्रतिदिन औषत ४.३६ मेगावाट विद्युत उत्पादन गरिरहेको छ। आयोजनाले आ.व २०७७÷७८ को असोज मसान्तसम्ममा कुल ५ करोड १२ लाख ४८ हजार ४७६.९६ रुपैयाँ बराबरको विद्युत उत्पादन गरी प्राधिकरणलाई बिक्री गरेको छ। जुन गत आर्थिक वर्षको तुलनामा ४ लाख ६६ हजार ६२९.६३ रुपैयाँले बढी हो।
वित्तीय अवस्था
कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैयाँ छ। यस्तै जारी पूँजी ४० करोड ७७ लाख ५ हजार ५ सय रुपैयाँ र चुक्ता पूँजी ३२ करोड ६१ लाख ६४ हजार ९ सय रुपैयाँ रहेकोमा आयोजना प्रभावित क्षेत्रका स्थानियकलाई सेयर बाँडफाँडपश्चात हाल कम्पनीको चुक्तापूँजी ३६ करोड ६९ लाख ३४ हजार ९ सय रुपैयाँ रहेको छ। सर्वसाधारणलाई आइपीओ बाँफाँड पश्चात कम्पनीको चुक्तापूँजी ४० करोड ७७ लाख ५ हजार ५ सय रुपैयाँ पुग्नेछ।
कम्पनीको सञ्चित मुनाफा चालु आर्थिक वर्ष २०७७/७८ मा ७ करोड ७० लाख ६० हजार रुपैयाँ रहने प्रक्ष्येपण गरिएको छ। अघिल्लो आर्थिक वर्षमा यो रकम ६ करोड १४ लाख ४७ हजार रुपैयाँमा सीमित थियो। यस्तै कम्पनीले आउँदो आ.व २०७८/०७९ मा सञ्चित मुनाफा ९ करोड ९७ लाख ५१ हजार र आ.व २०७९/८० मा ११ करोड ६० लाख ८७ हजार रुपैयाँ पुग्ने प्रक्ष्येपण गरेको छ।
यसैगरी चालु आर्थिक वर्षमा कम्पनीको प्रतिसेयर आम्दानी १४.३६ रुपैयाँ रहेको छ। आउँदो आ.व मा यो १५.५७ र त्यसपघिको आ.वमा १४.०१ रहने कम्पनीले प्रक्ष्येपण गरेको छ।