काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷७७ र २०७७÷७८ को वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी असोज १६ गते काठमाण्डौ हात्तिसारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा आर्थिक वर्ष २०७६/७७ का लागि चुक्तापुँजीको १०.५२६३ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको छ । यसैगरी सभामा आर्थिक वर्ष २०७७/७८ का लागि १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव समेत पारित गरिनेछ ।
यस्तै बोनस सेयर जारी गर्ने प्रयोजनका लागि कम्पनीको हाल कायम रहेको जारी तथा चुक्तापूँजीलाई १० प्रतिशतले वृद्धि गरी प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व २०७६/७७ र २०७७/७८ अवधिको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनेछ ।
कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गरेका सञ्चालकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनुका साथै कम्पनीको संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकको निवार्चन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
कम्पनीले वाािर्षक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि आगामी असोज ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।