काठमाण्डौ । विदेशस्थित ३९ वटा कूटनैतिक नियोगहरुमा कार्यरत कर्मचारीहरुको स्वास्थ्य बीमा तथा उपचार खर्चका लागि २ करोड बढी खर्च भएको छ । महालेखापरीक्षकको ५८ औँ वार्षिक प्रतिवेदनका अनुसार कूटनैतिक नियोगहरुले आर्थिक वर्ष २०७६/७७ मा नियोग प्रमुख, कूटनीतिक कर्मचारी, आश्रित परिवार र निजी कामदारको स्वास्थ्य बीमा तथा उपचार खर्चका लागि २० करोड १६ लाख १३ हजार रुपैयाँ खर्च गरेका हुन्।
मन्त्रिपरिषद्को २०५१ जेठ २३ गतेको निर्णयमा नियोग प्रमुख, अन्य कर्मचारी र निजका आश्रित परिवार तथा निजी कामदारको स्वास्थ्य बीमा र बीमकले आफैँले तिर्नुपर्ने शुल्क वा कमिसन भएमा सो समेत नेपाल सरकारले व्यहोर्ने उल्लेख छ। बीमा हुन नसक्ने भएमा मन्त्रालयको पूर्व स्वीकृती लिई गराइएको स्वास्थ्योपचारमा लागेको खर्च रकम नेपाल सरकारले व्यहोर्ने उल्लेख छ।
यस्तै महालेखापरीक्षकको प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा विदेशस्थित कूटनीतिक नियोग कार्यालय र कर्मचारी आवासका लागि घर भाडा बापत ८१ करोड १० लाख रुपैयाँ खर्च भएको छ। उो रकम नियोगको चालु खर्चको २९.३४ प्रतिशत हो। कर्मचारी आवासका लागि लिइएका घरमा उपलब्ध गराएको सुविधा र भाडा रकमसम्बन्धि मापदण्डमा विविधता देखिएकाले परराष्ट्र मन्त्रालयले स्पष्ट मापदण्डसहितको निती बनाई कार्यान्वयन गर्न सार्वजनिक लेखा समितिले २०६९ वैशाख ५ गते मा निर्देशन दिए तापनि हालसम्म कार्यान्वयन नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ।