काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २४ औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी वैशाख ३१ गते शुक्रबारका दिन कमलादीमा रहेको कम्पनीको प्रधान कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा संस्थाले भविष्यमा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने सम्बन्धको आवश्यक प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ।
यस्तै कम्पनीको आ.व २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा आ.व २०७६/७७ को लेखापरीक्षणको प्रतिवेदन सहितको वार्षिक वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व २०७६/७७ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड जस्ता वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ।
यसैगरी आ.व २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिबाट संस्थापक सेयरधनीको तर्फबाट मनोनित महिला सञ्चालक नियुक्तीको अनुमोदन गर्ने र नयाँ कार्यसमितिका लागि संस्थापक तथा सर्वसाधारण समूहको सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी वैशाख १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।