काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनको स्वीकृती प्राप्त गरेको छ। बीमा समितिले कम्पनीद्वारा प्रस्तावित चुक्तापूँजीको ३० प्रतिशत हकप्रद निष्कासनको प्रस्तावलाई स्वीकृती प्रदान गरेको हो।
कम्पनीको गत चैत ९ गते सम्पन्न १५ औँ र १६ औँ वार्षिक साधारणसभाबाट गत आर्थिक वर्षको बोनस सेयर वितरणपश्चात कायम चुक्तापुँजीको १०ः३ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिएको थियो। सोही सभाले गत आर्थिक वर्षको मुनाफाबाट २७.७६९ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पनि पारित गरेको थियो। यस्तै सभाले कम्पनीको अधिकृत पूँजी ४ अर्ब रुपैयाँ पुर्याउने र चुक्ता पूँजीमा संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्याई संस्थापक तथा सर्वसाधारण सेयरको अनुपात ५१ः४९ कायम गर्ने प्रस्ताव पारित गरेको थियो।
हकप्रद जारीपश्चात कम्पनीको चुक्तापुँजी २ अर्ब २८ करोड रुपैयाँ माथि पुग्नेछ। अब कम्पनीले बोनस सेयर वितरण गरेपश्चात कायम १ अर्ब ७५ करोड ६१ लाख ९२ हजार रुपैयाँ चुक्तापूँजीको ३० प्रतिशतले हुन आउने ५२ करोड ६८ लाख रुपैयाँ बराबरका ५२ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गर्नेछ।
यसका लागि कम्पनी रजिस्ट्रार कार्यालयबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गरी हकप्रद सेयर जानकारीका लागि आवश्यक प्रक्रियाको थालनी भइसकेको कम्पनीले जनाएको छ।