काठमाण्डौ । बीमा समितिले संस्थागत अभिकर्तालाई इजाजत प्रदान गर्ने भएको छ । समितिले‘संस्थागत बीमा अभिकर्ता सम्बन्धि निर्देशिका, २०७८ जारी गर्दै संस्थागत बीमा अभिकर्तालाई इजाजत प्रदान गर्ने व्यवस्था गरेको हो ।
अभिकर्ताको मुख्य वा प्रमुख व्यवस्थापकहरु मध्ये कम्तिमा एकजनाले समिति वा समितिबाट मान्यता प्राप्त गरेको संस्थाले बीमा अभिकर्ताको लागि सञ्चालन गरेको आफुले गर्न चाहेको किसीमको बीमा अभिकर्ताको तालिमम सहभागी भई प्रमाणपत्र लिएको हुनुपर्नेछ । अभिकर्ताको सञ्चालक र मुख्य वा प्रमुख व्यवस्थापकले कम्तीमा एसइई वा सो सरहको परीक्षा उत्तिण गरेको हुुनुपर्नेछ । यस्तै कुन किसिमको अभिकर्ता बन्ने हो उल्लेख गर्नुपर्नेछ ।
संस्थागत अभिकर्ता हुन चाहने संस्था कुनै खास प्रकारको व्यवसाय गर्ने रहेछ र त्यसको लागि कुनै निकायको इजाजतपत्र आवश्यक पर्ने रहेछ भने त्यस्तो इजाजतपत्र समेत प्राप्त गरेको हुनुपर्नेछ । संस्थागत अभिकर्ताले विद्युतीय प्रणालीमार्फत कारोबार गर्न सक्नेछन् । विद्युतीय प्रमाणीमार्फतको कारोबार अन्तर्गत संस्थागत अभिकर्ताले बीमासंगत बीमाशुल्क संकलन गरी बीमकलाई भुक्तानी गर्ने, बीमा प्रस्ताव फाराम भर्न सहयोग गर्ने, बीमाशुल्क भुक्तानी सम्बन्धि जानकारी दिने र पुनःबीमा गर्नुपरे सहयोग गर्ने, बीमकको तर्फबाट बीमितलाई विवरण जानकारी तथा सूचनाहरु उपलब्ध गराउने जस्ता कार्यहरु गर्न सक्नेछन् ।
अभिकर्ताले विद्युतीय प्रणालीमार्फत कारोबार गर्नका लागि सम्बन्धित निकायबाट इजाजत लिनुपर्नेछ । संस्थागत अभिकर्तामार्फत सेवा लिने वा नलिने बीमितको अधिकारको विषय हुनेछ र विद्युतीय सेवा लिनका लागि बीमक वा अभिकर्ताले बीमितलाई बाध्य पार्न पाउने छैनन् ।
अभिकर्ताले बीमितबाट बीमाशुल्क संलग्न गरी बीमकलाई भुक्तानी गर्दा बीमितको सहमति बिना कुनैपनि अतिरित्त, रकम आफुसँग राख्न पाउने छैनन । अभिकर्ताले बीमितलाई उपलब्ध गराउने विद्युतीय सेबा बीमा ऐन २०४९, बीमा नियमावली २०४९, बीमा समितिबाट जारी भएका निर्देशन तथा मार्गदर्शन तथा अन्य प्रचलित कानुनभित्र रहि बीमक र अभिकर्ताबीच हुने सम्झौता बमोजिम हुनेछ ।