काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले ५ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी पुस ३ गते शनिबारका दिन वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा संस्थाको सञ्चालक समितिद्वारा प्रस्तावित ३१.०५ प्रतिशत बोनस सेयर र १.६३ प्रतिशत नगद लाभांस गरी कुल ३२.६८ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । संस्थाद्वारा प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी २० करोड ६० लाख २७ हजार २५० रुपैयाँको ३१.०५ प्रतिशतले हुन आउने ६ करोड ३९ लाख ७२ हजार ७५० रुपैयाँबराबरको बोनस सेयर र १.६३ प्रतिशतले हुन आउने ३३ लाख ६६ हजार ९८६.८४ रुपैयाँबराबरको नगद लाभांस रहेका छन् ।
यस्तै सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि संस्थाले आगामी मंसिर १७ गतेदेखि पुस २ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर १६ गतेसम्म कायम सेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा सभामा सहभागी हुन योग्य हुनेछन् ।