काठमाण्डौ । बीमा समितिले यहि साउन महिनाभित्रमा देशका बीमा क्षेत्रमा सम्पत्ति सुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी विरुद्धको सफ्टवेयर‘goAML(एन्टी मनी लन्ड्रीङ सिस्टम) अनिवार्य रुपमा लागू गर्ने भएको छ । यसअघि नमुना परीक्षणका रुपमा विभिन्न पाचँवटा जीवन बीमा कम्पनीहरुबाट लागू गर्न सुरु गरिएको goAML यहि साउन महिनाभित्रमा सबै बीमा कम्पनीहरुमा अनिवार्य रुपमा लागू गर्न लागिएको हो ।
इजाजतप्राप्त सबै जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीहरुका लागि goAML सञ्चालन सम्बन्धि सैदान्तिक एवम व्यवहारिक जानकारी दिन सम्पत्ति सुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बीमा क्षेत्रमा goAML सफ्टवेयरबाट रिपोटिङ गर्ने विषयक अन्तक्रिया सम्पन्न भएको छ ।
कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुले एकल बीमालेख अन्तर्गत पहिलो प्रिमियमबापत एकैपटक ठूलो रकम लिएर बीमा गर्ने र बीमितले आठ दश महिनाभित्रै सरेन्डर गरेर ठूलो रकम निकाल्ने प्रवृत्ति शंकास्पद हुने भएकाले त्यसका बारेमा सुरुमै नेपाल राष्ट्र बैंकस्थित वित्तीय जानकारी इकाईलाई जानकारी गराउन बीमा कम्पनीहरुलाई निर्देशन दिए ।
बीमा कम्पनीहरुमा बीमा गर्नका लागि एकैपटक ठूलो रकम आएमा त्यसको स्रोत के हो र कहाँबाट आयो भन्ने जानकारी लिएर goAML मार्फत वित्तीय जानकारी इकाईलाई जानकारी गराउनुपर्ने र त्यसो नगरेमा सम्बन्धित बीमा कम्पनीलाई बीमा ऐन २०४९ र सम्पत्ति सुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धि कानुन बमोजिम कारबाही हुने उनले बताए ।
यसका साथै उनले बीमा क्षेत्रमा सम्पत्ति सुद्धिकरण र शंकास्पद लगानी हुन नदिनका लागि बीमा कम्पनीहरुलाई बारम्बार पत्राचार र निर्देशन दिएको उल्लेख गर्दै विगतका कमी कमजोरीहरुलाई सच्चाएर बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण र शंकास्पद लगानी विवरणका लागि सदैव चनाखो र सजग हुन कम्पनीहरुलाई आग्रह गरे ।
बीमा समितिको आयोजना भएको कार्यक्रममा बीमा समिति र जीवन तथा निर्जीवन बीमा कम्पनीहरुका सम्पत्ति शुद्धिकरण निवारण विभागका पदाधिकारीहरुको एवम कर्मचारीको समेत सहभागिता रहेको थियो ।