काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक २२४.६२ अंकले घट्दै १४४३८.२७ बिन्दुमा सीमित भयो । यो दिन जीवन बीमा उपसूचक पनि १९१.२ अंकले घट्दै १८०१९.०५ बिन्दुमा झर्यो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो । आज यूनियन लाइफको सेयरमूल्य १० प्रतिशतले बढ्दै प्रतिकित्ता ८५४ रुपैयाँ कायम भयो ।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् ।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो । परिसूचक २४.८८ अंकले घट्दै ३१५४.०३ बिन्दुमा झर्यो । यो दिन बजारमा २२२ कम्पनीका ३ करोड ५५ लाख ५ हजार ६८८ कित्ता सेयर २१ अर्ब ६४ करोड ७६ लाख ६५५ रुपैयाँमा किनबेच भयो ।
१३ वटा समूहमध्ये आज ३ वटा समूहबाहेक अन्य सबै समूहमा गिरावट आयो । आज उत्पादन तथा प्रशोधन समूह १६०.२३ अंकले बढ्यो । त्यस्तै लघुवित्त समूह ११५.१२ र लगानी समूह ०.६६ अंकले बढ्यो ।
बैंकिङ समूह ७.१५ अंकले घटेको आज व्यापार ३६.५, होटल एण्ड टुरिजम ६६.०४, विकास बैंक १६०.१३, हाइड्रोपावर १५७.४१, वित्त ८७.०५, अन्य ४०.१४ र म्युचुअल फन्ड ०.१३ अंकले घट्यो ।
आज तीनवटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो । आज खानीखोला हाइड्रोपावर, जीवन विकास लघुवित्त र यूनियन लाइफको सेयरमूल्य १० प्रतिशतले बढ्यो ।
आज रिडी हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो । कम्पनीको सेयरमूल्य ८.५२ प्रतिशतले घट्यो ।
यो दिन नेपाल बैंक लिमिटेडको सर्वाधिक सेयर कारोबार भयो । आज बैंकको १ अर्ब ५ करोड बढीको सेयर कारोबार भयो भने हिमालयन डिस्टीलरी ७९ करोड २५ लाख, अपि पावर कम्पनी ७० करोड २७ लाख र रिडी हाइड्रोपावरको ५९ करोड ४७ लाख बढीको सेयर कारोबार भयो ।