काठमाण्डौ । सानिमा लार्ज क्याप फन्ड अन्तर्गत १२ करोड इकाई नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ।
सानिमा लार्ज क्याप फन्डले हालै मात्रै लगानीकर्तालाई म्युचुअल फन्ड इकाई बाडँफाँट गरेको थियो। सानिमा बैंक कोष प्रवद्धर्क र सानिमा क्यापिटल योजना व्यवस्थापक रहेको रु १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाईको सानिमा लार्ज क्याप फन्डको निष्कासन गत माघ ९ गतेदेखि भएको थियो।
बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोष प्रवद्धर्क सानिमा बैंक तथा योजना व्यवस्थापक सानिमा क्यापिटललाई सुरक्षित राखिएको थियो र बाँकी ८ करोड ५० लाख इकाई भने सर्वासाधारणका लागि निष्कासन गरिएको थियो।
निष्कासनकर्ता तथा बिक्री प्रवद्धर्क सानिमा क्यापिटलका अनुसार यो म्युचुअल फन्डमा ७५ हजार ८८४ आवेदकबाट १० करोड ६६ लाख ६९ हजार ४५० इकाईका लागि खरिद आवेदन परेको थियो। यसरी यो म्युचुअल फन्डमा मागभन्दा १.२५ गुणा बढी आवेदन परेको थियो।
ओभरसब्सक्राइब्ड भएका कारण निष्कासनकर्ता तथा बिक्री प्रवद्धर्क सानिमा क्यापिटलले कोषको आकार बढाएर १ अर्ब २० करोड रुपैयाँ पुर्याएको छ। त्यसैले गत माघ २३ गते १२ करोड इकाई बाँडफाँट गरिएको थियो।
सानिमा लार्ज क्याप फन्ट क्लोज इन्डेड फन्ड हो। आज(फागुन ११ गते) कम्पनी र नेप्सेबीच सामूहिक लगानी कोष सूचिकरण सम्झौता सम्पन्न भएकाले दोस्रो दिन अर्थात भोलिदेखि नेप्सेमा यस सामूहिक लगानी कोषको कारोबार सुरु हुनेछ।