सामूहिक दुर्घटना बीमा दाबी गर्न छुटेका श्रमिकलाई निवेदन दिन श्रम मन्त्रालयको आग्रह

2021-07-09
सामूहिक दुर्घटना बीमा दाबी गर्न छुटेका श्रमिकलाई निवेदन दिन श्रम मन्त्रालयको आग्रह

काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामूहिक दुर्घटना बीमा रकम दाबी गर्न छुटेका श्रमिकलाई निवेदन दिन आग्रह गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भई काममै रहेका बेला दुर्घटनामा परेका तर सामूहिक दुर्घटना बीमा रकम दाबी गर्न छुटेका श्रमिकलाई सरकारले निवेदन दिन आग्रह गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सूचना जारी गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको काममा आबद्ध रहेकै बेला दुर्घटनामा परेका श्रमिक र श्रमिकका हकवालालाई बीमा दाबीका लागि निवेदन पेश गर्न आग्रह गरेको हो ।

गएको पुस १ देखि असार मसान्तसम्म रोजगारीमा रहेकै बेला दुर्घटनामा परेका श्रमिकले सामूहिक दुर्घटना बीमाको दाबी उपलब्ध गराउन बीमा समिति र श्रम मन्त्रालयबीच सम्झौता भएको थियो । 

सरकारले चालु आर्थिक वर्ष २०७७÷७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत दुर्घटनामा परेर मृत्यु भएका र अङ्गभङ्ग भएका श्रमिकका लागि अधिकतम ७ लाख रुपैयाँसम्म बीमा दाबी गर्नसक्ने व्यवस्था गरेको छ । 

यस कार्यक्रमअन्तर्गत सङ्कलित आयोजनामा सूचीकृत बेरोजगार व्यक्तिमध्ये काममा खटिएका समयमा दुर्घटना, स्थायी अङ्गभङ्ग भएमा वा मृत्यु भएमा सात लाख रुपियाँसम्म रकम पालिकाबाट दाबी गर्न सक्ने मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । 

मन्त्रालयका अनुसार अहिलेसम्म बीमाको रकम दाबीका लागि ८÷१० जना घाइते भएको भन्ने आवेदन परेको छ । 

बीमा समिति र श्रम मन्त्रालयबीच भएको सम्झौतामा दुर्घटना भएको ३५ दिनभित्र दाबी रकमका लागि आवेदन दिइसक्नुपर्ने व्यवस्था गरिएको छ ।

 


Share this with your friends: