सिईडिबि हाइड्रोपावरको आईपीओ निष्कासन वैशाख १७ देखि

2021-04-21
सिईडिबि हाइड्रोपावरको आईपीओ निष्कासन वैशाख १७ देखि

काठमाण्डौ । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आगामी वैशाख १७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले २५ करोड १८ लाख २३ हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका २५ लाख १८ हजार २३० कित्ता सेयर निष्कासन गर्न लागेको हो। 

कम्पनीले जारी गर्न लागेको आईपीओ कुल जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशत हुन आउँछ। कुल निष्कासनमध्ये २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित राखि बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता साधारण सेयर आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ। 

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सि–आस्वा प्रणालीमार्फत आवेदन संकलन गर्न सक्ने आवद्ध आस्वा सेवामा सहभागी बैंक तथा तीनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। 

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सनराइज क्यापिटल लिमिटेड रहेको छ। आईपीओ निष्कासन छिटोमा वैशाख २१ गते र ढिलोमा वैशाख ३१ गते बन्द हुनेछ। 

कम्पनीका बारेमा  

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड कम्पनी ऐन २०६३ अन्तर्गत स्थापित भई २०६६ मंसिर १५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई कारोबार सञ्चालन गर्दै आएको कम्पनी हो। कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौ त्रिपुरेश्वरमा रहेको छ। यो क्लिन इनर्जी  डेभलपमेन्ट बैंकद्वारा प्रवर्धित कम्पनी हो। हाल यस कम्पनीमा २६५ संस्थापक सेयरधनीहरु रहेका छन्। कम्पनीद्वारा प्रवर्धित आयोजनाहरु १८३ किलोवाटको सांगे जलविद्युत आयोजना र ४.४ मेगावाटको राधि जलविद्युत आयोजना निर्माण सम्पन्न भई विद्युत उत्पादन गरिरहेका छन्। यस्तै ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजना, १२ मेगावाटको दोर्दी १ जलविद्युत आयोजना र ५ मेगावाटको रुमुकगाड जलविद्युत आयोजना निर्माणधिन रहेका छन्। 

कम्पनीले ४५ मेगावाटको कसुवा खोला जलविद्युत आयोजना प्रबर्धन तथा लगानी गरेको छ। हाल कम्पनीको चुक्तापूँजी ५८ करोड ७५ लाख ८७ हजार रुपैयाँ रहेको छ। आईपीओ निष्कासनपश्चात कम्पनीको चुक्तापूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ हुनेछ। कम्पनीले केयर रेटिङ नेपालबाट केयर–एनपी बीबी(आइएस) प्रमाणपत्र प्राप्त गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको भन्ने जनाउँछ। 

कम्पनीले आईपीओ जारी गरी संकलन गरेको रकम रकमगाड जलविद्युत आयोजनामा दगानी गर्नेछ। यो आयोजनाको कुल लागत १ अर्ब १४ करोड ९६ लाख ५६ हजार रुपैयाँ रहेको छ। आयोजनको प्रति मेगावाट लागत भने २२ करोड ९९ लाख ३१ हजार रुपैयाँ रहेको छ।   

 


Share this with your friends: