सिटिजन्स बैंक १५ औँ वर्षमा प्रवेश

2021-04-20
सिटिजन्स बैंक १५ औँ वर्षमा प्रवेश

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड आजबाट १५ औँ वर्षमा प्रवेश गरेको छ। 

नेपालीलाई वित्तीय सेवा सुविधा प्रदान गर्ने उद्देश्यका साथ यो बैंक २०६४ वैशाख ७ गतेदेखि २० औँ वाणिज्य बैंकका रुपमा स्थापना भएको हो। वार्षिकोत्सवका अवसरमा बैंकले आफ्ना समस्त ग्राहक, सेयरधनी, नियामक निकाय, कर्मचारी तथा शुभचिन्तकमा हार्दिक आभार व्यक्त गरेको छ। 

कुल ५६ करोड रुपैयाँ चुक्तापुँजीबाट स्थापना भएको सिटिजन्स बैंकको हालको चुक्तापुँजी ११ अर्ब ६६ करोड  रुपैयाँ पुगेको छ। बैंकले यस अवधिमा नेपाल हाउजिङ एन्ड मर्चेन्ट फाइनान्स, पिपुल्स फाइनान्स, प्रिमियर फाइनान्स, सहयोगी विकास बैंक र तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेको छ। त्यसैगरी पछिल्लो समयमा सिर्जना फाइनान्सलाई पनि प्राप्ति गर्ने प्रारम्भिक सम्झौता गरिसकेको छ।

बैंक स्थापना भएको वर्ष समाप्तिमा १ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेकोमा आर्थिक वर्ष २०७७र७८ को चैत मसान्तसम्म आइपुग्दा बैंकको कुल निक्षेप करिब १ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ भने करिब १ खर्ब १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

पछिल्लो एक दशकको अवधिमा बैंकको नाफामा समेत उच्च दरमा वृद्धि भएको छ। बैंकको नाफा पछिल्ला ५ वर्ष निरन्तर १ अर्बभन्दा माथि रहँदै आएको छ। गत आर्थिक वर्षमा मात्र १ अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा करिब १ अर्ब ५४ करोड रुपैयाँ नाफा गरेको छ।

स्थापनाको पहिलो वर्ष ९ वटा शाखाबाट सेवा प्रदान गर्दै आएकोमा हाल यस बैंकले सातै प्रदेशमा फैलिएका आफ्ना १६७ वटा शाखाबाट करिव १० लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ। बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैयमाससम्ममा थप ७४ वटा शाखा विस्तार गरिसकेको छ। 

बैंकिङ सेवा लिन जिल्ला सदरमुकाम वा सहर बजारमै पुग्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्न बैंकले स्थापनाकालदेखि नै पहल कदमी गरिसकेको थियो। २०६८ सालमा हुम्लाको सिमिकोट र २०७१ सालमा डोल्पामा शाखा खोलिनु यसका केही उदाहरणहरु हुन्। वित्तीय पहँुच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्द्धन तथा संघीयतालाई दह्रो र सहज बनाउन सरकारले अवलम्बन गरेको सबै नेपालीको बैंक खाता भन्ने नीतिलाई आत्मसाथ गर्दै यस बैंकले नेपालको दुर्गम क्षेत्रमा पनि शाखाहरू विस्तार गर्दै आएको छ।

स्थापनाकालदेखि नै  कर्मचारीलाई उच्च प्राथमिकतामा राखेर कार्यसम्पादन गर्दै आएको यस बैंकको थालनी हुँदा ४४ जना कर्मचारी रहेकोमा हाल यस बैंकसँग १ हजार ६ सय जना कर्मचारी आबद्घ छन्। यसै सिलसिलामा बैंकमा निरन्तर दुई कार्यकाल पूरा गरी सञ्चालक समितिमा योगदान पुर्याएका सञ्चालक तथा बैंकमा निरन्तर १० वर्ष कार्यरत पदाधिकारी एवं कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान पदक’  वितरण गरिएको बैंकले जनाएको छ। 

सूचना प्रविधिमा आएको आमूल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउँदै गर्दा सूचना प्रविधिको विकाशक्रमलाई आत्मसाथ गर्दै बैंकले १११ वटा स्थानबाट एटीएम सेवा प्रदान गर्दै आएको छ। सिटिजन्स बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु डिजिटल च्यानलका माध्यमबाट प्रदान गरिरहेको छ। 

यस चौध वर्षको अवधिमा ३ लाख ४४ हजार १८३ ग्राहकले मोबाइल बैंकिङ सेवाको उपयोग गर्दै आएको बैंकले जनाएको छ। सिटिजन्स बैंकको ई–बैंकिङको प्रयोगकर्ता २३ हजार ६६० पुगेको छ भने सिटिजन्स डेबिट तथा क्रेडिट कार्डधारकको संख्या १ लाख ७९ हजार ७४० रहेको छ।

बैंकका डेबिट, क्रेडिट÷प्रिभिलेज कार्डवाहकहरुले विभिन्न प्रकारको सेवासुविधा लिँदा विशेष छुटको प्रबन्ध मिलाइएको बैंकले जनाएको छ। जसका लागि बैंकले हालसम्म १३७ वटा विभिन्न क्षेत्रका सेवा प्रदायकसँग विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ। 

नेपालका विभिन्न सेवा प्रदायकहरुसँग सहकार्य गर्दै आएको बैंकले हालसालै भारतको मेदान्त मेडिसिटी अस्पतालसँग पनि बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ। 

खुद्रा लेनदेन र किनमेललाई सहज, सरल र झन्झटरहित  बनाउनका लागि बैंकले विभिन्न तरकारी बजार, फलफूल बजार, ससाना किराना पसलहरु, पान पसल, पेट्रोल पम्प आदि जस्ता स्थानहरुमा ५ हजार ३१९ वटा क्यूआर कोड तथा ४४० वटा पीओएस मेसिन वितरण गरेर खुद्रा लेनदेनलाई सहज बनाउन एक परिष्कृत कार्ययोजनाका साथ द्रुतगतिमा कार्य गर्दै आइरहेको छ। आगामी दिनमा डिजिटल सेवाको विकासमा बैंक अझै आक्रामक रूपमा प्रस्तुत हुने कुरा बैंकले जनाएको छ। 


Share this with your friends: