सिटिजन्स बैंकद्वारा ‘पेडे लोन’ कर्जा सुविधा सार्वजनिक, घरै बसी–बसी रु. २ लाखसम्म कर्जा पाइने

2021-06-03
सिटिजन्स बैंकद्वारा ‘पेडे लोन’ कर्जा सुविधा सार्वजनिक, घरै बसी–बसी रु. २ लाखसम्म कर्जा पाइने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एफवान सफ्ट इन्टरनेसनल प्रालिसँग सहकार्य गरेर आफ्ना ग्राहकहरुको सुविधाका लागि ‘पेडे लोन’ नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको छ। 

आज काठमाण्डौको दरबारमार्गस्थित नारायणहिटीमा रहेको बैंकको मुख्य कार्यालय भवनमा आयोजित एक भर्चुअल कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले कम्प्युटरमा क्लिक गरी ‘पेडे लोन’ योजना सार्वजनिक गरेका हुन्। बैंकमा तलब खाता सञ्चालन गरिरहेका तथा बचत खातामा नियमित कारोबार गर्ने ग्राहकले अधिकतम ३० दिनसम्मका लागि अधिकतम रु. २ लाखसम्म मोबाइल बैंकिङबाट ‘पेडे लोन’ सुविधा सहजै प्राप्त गर्न सक्नेछन् भने कर्जाका लागि कुनै पनि निवेदन दिन र कानुनी कागजात गरी रहनुपर्ने छैन।

ग्राहकलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न ‘पेडे लोन’ सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको छ। बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिनेजस्ता विशेषताले गर्दा यो लोकप्रिय हुने विश्वास बैंकले लिएको छ। 

आफ्ना सेवालाई डिजिटलमैत्री बनाउँदै ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले ‘पेडे लोन’ योजना सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। 

सिटिजन्स बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु डिजिटल च्यानलका माध्यमबाट प्रदान गरिरहेको छ। यसलाई मूर्तरुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ एपमा लग–इन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एन्ड वेथड्र सेवा, मोबाइल बैंकिङको पिन नं। बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरुको थालनी गरेको छ। यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ। 

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १६८ वटा शाखा, १११ वटा एटीएम र १०९ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब १० लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ। 


Share this with your friends: