सिटिजन्स बैंकको लाभांस संसोधन, कति बढ्यो ?

2020-11-05
सिटिजन्स बैंकको लाभांस संसोधन, कति बढ्यो ?

काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले लाभांस संसोधन गरेको छ। बैंकको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि यसअघि प्रस्ताव गरेको लाभांसमा संसोधन गरेको हो। 

नेपाल राष्ट्र बैंकबाट जारी इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्नेसम्बन्धी कार्यविधि, २०७७ को खण्ड (ख) लाभांश स्वीकृतिसम्बन्धी बुँदा नं. ११ को प्रावधानसम्म हुने गरी पुनः लाभांश संशोधन गरी प्रस्ताव गरिएको बैंकले जनाएको छ।

सञ्चालक समितिको बैठकले लाभांस संसोधन गर्दै सेयरधनीहरुलाई चुक्तापुँजी ९ अर्ब ८ करोड ९८ लाख १७ हजार २९० रुपैयाँको ८ प्रतिशतले हुन आउने ७२ करोड ७१ लाख ८५ हजार ३८३.१८ रुपैयाँबराबरको बोनस सेयर र ३ प्रतिशतले हुन आउने २७ करोड २६ लाख ९४ हजार ५१८.६९ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। 

यसअघि बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ७.७० प्रतिशत बोनस सेयर र करसहित ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

नयाँ संसोधित लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने बैंकले जनाएको छ।


Share this with your friends: