सिनर्जी पावर डेभलपमेन्टद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

2021-08-11
सिनर्जी पावर डेभलपमेन्टद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १५ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो । 

बैठकले आगामी भदौ १८ गते शुक्रबारका दिन बालुवाटारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअलमाध्यम जुम एपमार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा २०७८ मसान्तसम्मको सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२६३ नगद लाभांस गरी कुल १०.५२६३ प्रतिशत लाभांस वितरणको विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै यस्तै कम्पनीले प्रस्तावित बोनस सेयर जारी पश्चात कायम हुने चुक्तापूँजीको दुई बराबर एक अर्थात २ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरिनेछ । 

कम्पनीद्वारा प्रस्तावित लाभांसमा चुक्तापूँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँको १० प्रतिशतका दरले हुन आउने ७ करोड ३३ लाख २५ हजार रुपैयाँ र ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ०९४.७५ रुपैयाँबराबरको नगद लाभांस रहेका छन् ।   

यसैगरी सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरिक्षकको प्रतिवेदनसहित आ.व २०७७/७८ असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनेछ । 

लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी भदौ ४ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । 


Share this with your friends: