काठमाण्डौ । यो साता अधिकांस बीमा कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको छ। समग्रमा भन्नुपर्दा यो साता बीमा कम्पनीहरुका लागि निराशाजनक रह्यो। तेस्रो कारोबार दिन बीमा कम्पनीहरुको परिसूचकमा वृद्धि देखिएको थियो। त्यो दिन निर्जीवन बीमा समूहमा उछाल आएको थियो। तेस्रो कारोबार दिन निर्जीवन बीमा समूह १७६.८६ अंकले बढेको थियो। सेयरको मूल्य बढाएर बिक्री गरिहाल्ने सर्ट टर्म लगानीकर्ताका कारण केहि यो एक साताको अवधिमा अधिकांस बीमा कम्पनीहरुको सेयरमूल्यमा गिरावट आयो। उसो त केहि समयदेखि बीमा समूहहरुको परिसूचकमा करेक्सन आइरहेको छ। यसले समेत यो साता बीमा कम्पनीहरुको सेयरमूल्यलाई प्रभावित पार्यो।
यो एक साताको अवधिमा ३ वटा जीवन बीमा कम्पनीको सेयरमूल्यमा मात्रै वृद्धि भयो। जीवन बीमातर्फ यो साता सबैभन्दा धेरै वृद्धि प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्यमा देखियो। यो एक साताको अवधिमा यो कम्पनीको सेयरमूल्य १८ रुपैयाँका दरले बढ्यो। साताको पहिलो कारोबार दिन ६६२ रुपैयाँ रहेको कम्पनीको सेयरमूल्य अन्तिम कारोबार दिन प्रतिकित्ता ६८० रुपैयाँका साथ बन्द भएको थियो।
त्यस्तै एक साताको अवधिमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य १६ रुपैयाँका दरले वृद्धि भयो। साताको पहिलो दिन ६१६ रुपैयाँ रहेको कम्पनीको सेयरमूल्य अन्तिम दिन आइपुग्दा ६३२ रुपैयाँ कायम भयो। यो अवधिमा एसियन लाइफको सेयरमूल्यमा पनि ३ रुपैयाँका बढोत्तरी आयो।
जीवन बीमा कम्पनीतर्फ यो साता सबैभन्दा धेरै गिरावट गुराँस लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा आयो। एक साताको अवधिमा गुरासँ लाइफका लगानीकर्ताले ३२ रुपैयाँ प्रतिकित्ताका दरले गुमाए। यसैगरी लाइफ इन्स्योरेन्स कम्पनी नेपालका लगानीकर्ताले ९ रुपैयाँ, नेशनल लाइफ,रिलायन्स लाइफ र नेपाल लाइफका लगानीकर्ताले प्रतिकित्ता समान ७ रुपैयाँका दरले गुमाए।
निर्जीवन बीमा कम्पनी
यो साता निर्जीवन बीमा कम्पनीहरुको प्रदर्शन पनि जीवन बीमा कम्पनीको जस्तै रह्यो। एक साताको अवधिमा अधिकांस निर्जीवन बीमा कम्पनीको सेयरमूल्यमा गिरावट आयो। यो एक साताको अवधिमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सेयरमूल्यमा सबैभन्दा धेरै वृद्धि भयो। पहिलो कारोबार दिन १२४०० रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य अन्तिम कारोबार दिन १३४२० रुपैयाँको उचाईमा पुग्यो। यसरी एक साताको अवधिमा यो कम्पनीका सेयरधनीहरुले प्रति सेयर १०२० रुपैयाँका दरले कमाए।
यस्तै बुधबार देखि कारोबारमा आएको सानिमा जनरल इन्स्योरेन्सको सेयरमूल्य ३४ रुपैयाँले बढ्यो। कारोबारमा आएको पहिलो दिन अर्थात बुधबार ३४२ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य अन्तिम कारोबार दिन प्रतिकित्ता ३७६ रुपैयाँका साथ बन्द भयो।
आइएमई जनरलका सेयरधनीले प्रतिकित्ता १० रुपैयाँका दरले कमाएको यो साता नेपाल इन्स्योरेनसका सेयरधनीले ४ रुपैयाँका दरले आफ्नो सम्पत्ति बढाए।
निर्जीवन बीमातर्फ यो एक साताको अवधिमा प्रिमियम इन्स्योरेन्सका लागनीकर्ताले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरमूल्यमा यो साता १७ रुपैयाँको गिरावट आयो। यस्तै एनएलजी इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सका लगानीकर्ताले समान १४ रुपैयाँका दरले गुमाए भने सगरमाथा इन्स्योरेन्स १३ रुपैयाँ, नेको इन्स्ुरेन्स, प्रभु इन्स्योरेन्स, जनरल इन्स्योरेन्स कम्पनी समान १२ रुपैयाँ, एभरेष्ट इन्स्योरेन्स ७ रुपैयाँ, शिखर इन्स्योरेन्स ६ रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्स ५ रुपैयाँ, हिमालयन र प्रुडेन्सियल इनस्योरेन्स समान ४ रुपैयाँ र अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले समान ३ रुपैयाँका दरले गुमाए।