काठमाण्डौ । एक आपसमा गाभिएका सूर्योदय लघुवित्त र वोमी लघुवित्तले सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गरेका छन् ।
वोमी लघुवित्त वित्तीय संस्थाले सूर्योदय लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव दुवै संस्थाको गत पुस १६ गते बसेको अलग अलग सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरिएको थियो । त्यस्तै दुई कम्पनीले एक आपसमा मर्जरमा जान नेपाल राष्ट्र बैंकबाट फागुन ५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट चैत १ गते स्वीकृती पाएका थिए ।
प्राप्तिपश्चात कायम सूर्योदय वोमी लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रिय कार्यालय बागमति प्रदेश काभ्रेपलञ्चोक जिल्ला बनेपा नगरपालिका वडा न.१३ साँगामा रहने छ ।
मर्जरपश्चात कायम भएको सूर्योदय वोमी लघुवित्तको चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा मोक्ष प्रसाद पंगेनीलाई सोही दिनदेखि लागू हुने गरी नियुक्त गरेको छ ।
त्यसैगरी सोही बैठकले नायब प्रमुख कार्यकारी अधिकृतमा प्रमेश आचार्यलाई नियुक्त गरेको छ । त्यस्तै मर्जर पश्चात बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा बिन्दीया श्रेष्ठ प्रधानलाई चयन गरेको छ ।
कम्पनीको सञ्चालकमा बिन्दीया श्रेष्ठ प्रधान,अनन्त कुमार श्रेष्ठ,नरेन्द्र कुमार प्रसाई र गुडाखर सापकोटा संस्थापक शेयरधनीको तर्फबाट चयन भएका छन् । त्यसैगरी सर्वसाधारण शेयरधनीको तर्फबाट कृष्णराज सिलवाल र तारा शर्मा नियुक्त भएका छन् । त्यसैगरी स्वतन्त्र सञ्चालकमा भरत सिंह थापा चयन भएका छन् ।
मर्जरपश्चात सूर्योदय वोमी लघुवित्तको चुक्तापूँजी ७९ करोड १९ लाख रुपैयाँ पुगेको छ ।